- तिर्थ राज अर्याल
भालेको कुखुरी काँ ” बाट
सुरु भैदिएको म ‘दीन’ को एक दिन
काली गाईको बाच्छी सङ्ग हब्बाँ.. गर्दै
बाख्राको पाठाको म्याँ$$$ मा पुगेर एक फन्को लगाउछ
अनि
खेतको डिलमा पुगि
एकैछिन टक्क अडिएर
दगुर्दै बैदार बा को आगन मा पुग्छ !
बोर्डिङ स्कुलमा आफ्ना “ब्याज” पढाउन लिएको
ढाड सेक्ने ‘ब्याज’ धारि ऋण ले
भाका नागेको आज २ वर्ष सात महिना पुगेको बैदारको अग्लो आदेश
होचो पिढिको डिलमा बसेर
अर्को महिना “ब्याज”तिर्ने ‘सर्त’ को
बडेमानको ‘भारी’ बोकि
खोच्याङ्ग-खोच्याङ्ग
बिसौनाको चौपारिमा अडेस लागेर
कमिजको बाउलाले नुनिला पसिना पुच्छ ।
साहुको पसलमा बेलुकिलाइ खाने ‘नुन’
र
केटाकेटीलाई मिठाइँ
उधारोमा लिई
देवीथान लाई दाहिने पारेर
आफ्नो भाग्यलाई देब्रे पार्दै
घरको आडैमा पुगेर खुइय$$ श्वास फेरेर
युद्ध हारेर फर्केको सिपाही जस्तो एक छिन थचक्क बस्छ!
अनि फेरि
मायामा परेको प्रेमी जस्तो मुसुक्क हाँस्दै घरभित्र पस्छ।
उधारोमा ल्याएका दुई गोटा मिठाइँ मध्ये
एउटालाई
दाँत ले कुटुक्क पारेर आधा-आधा गरेर
एउटा टुक्रा भुन्टेलाइ र अर्को टुक्रा भुन्टिलाई दिई
बचेको एउटा मिठाइँ ‘खोपा’मा राख्छ
“भोलि”लाई ।
‘आज भन्दा भोलि राम्रो हुन्छ’ भनेर सानोमा बा’ ले भन्दा
सुनौलो भोलि कातिबेला उदाउला भन्दै राती तिनपटक बिउँझिने मेरो ‘दिन’का रातले
आजकल
कहिल्यै ‘भोलि’ महसुस गर्नै पाएनन्।
किनकि
ती आएका भोलि
मेरो बा ले भनेको भोलि जस्तो सुनौला थिएनन् ।
ती आउन लागेका भोलि मैले दन्त्य कथामा सुनेजस्तो अप्सरा मुखी थिएनन्।
तर पनि आज म
भोलि मेरो ‘भोलि’ पनि सुनौलो हुने आशा लिएर
सिन्कीको झोलमा एक गाँस ढिँडो डोबेर
सुर्लुक्क निली
म दीन को दिनहरु
मैले कथामा सुनेको,
नभएको तर ‘छ’ भनेर मानेको,
“स्वर्ग”जस्तो भएको कल्पिदै
एकमुठी जति निद्रा सुतेँ ।
फेरि कुखुराको भाले र काली गाइको बाच्छीको आवाज ले ब्युँझदा
मेरो पुर्वले
सुनको लाली लगाएको थियो,
बिहेमा अन्मेको बेहुली जस्तो
चिटिक्क परेर ।
अनि त्यही बेला
ठ्याक्कै मुन्टियो मेरो भोलि
च्यातिएको झोलामा प्लास्टिकको बोतल बोकेर
बोतल भरी पिर कुण्ठा दु:ख अभाव बोकेर
कुरुप मुद्रा बोकेर
ब्याज बोकेर
ह्वास्स गन्हाउने नुनिलो पसिना बोकेर
पसिना पुछ्ने मैलो कमिज बोकेर
खाइसकेको मिठाईको खोल बोकेर !
मेरै अगाडि
ठिङ्ग उभिएर मलाइ गिज्ज्यायो ।