१९ मंसिर, काठमाडौँ । हिमानी शाहले ट्विटरमार्फत राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनलाई बधाई दिएपछि कमल थापाले आक्रोश व्यक्त गरेका छन् । हिमानीले @HimaniSh123 ह्यान्डलबाट लिङ्देनलाई बधाई दिँदै गरेको ट्विटमा कमल थापाले आक्रोशित भएर जवाफ फर्काएका हुन्।
हिमानीले लेखेकी थिइन्, ‘अवसरवाद, नातावाद, कृपावादको अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रवादी नेता राजेन्द्र लिङ्देनलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना, राजेन्द्र लिङ्देनको जितसँगै मुलुकले आज सच्चा राष्ट्रवादी नेता पाउन सफल भएको छ।’
उक्त ट्विटको जवाफमा थापाले लेखेका छन्, ‘अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा हिमानी शाहलाई पनि हार्दिक बधाई तथा शुभकामना।’
यसअघि थापाले आइतबार बिहान पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै पराजयको मुख्य दोष थोपार्देै अब बोकेर नहिँड्ने भन्दै आक्रोश देखाएका थिए।