१९ मंसिर, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई अरूको भन्दा फरक ढंगले नेतृत्व गरि नेताकार्यकर्ताको शिर झुक्न नदिने बताएका छन् । आइतबार पार्टीको अध्यक्षमा विजयी भएपछि आयोजित सभामा बोल्दै नवनिर्वाचित अध्यक्ष लिङ्देनले आफ्नो कार्यकालमा पार्टीलाई सही दिशा दिन र नेताकार्यकर्ताको शिर झुक्न नदिने बताएका हुन् ।
‘मैले गाउँ घरतिर भोट माग्दा भन्थेँ, थुक्क यो राजेन्द्र मोरा पनि उस्तै चोर रहेछ, भन्ने काम म गर्न दिने छैन भन्ने मौका दिने छैन भनेको थिएँ । आज राप्रपाका तमाम देशभरका महाधिवेशन प्रतिनिधि साथीहरूलाई, नेताकार्यकर्ता साथीहरूलाई पनि भन्न चाहन्छु, यो पनि उस्तै रहेछ भन्ने मौका म दिन्न,’ लिङ्देनले भने, ‘तपाईंहरूको शिर झुक्ने काम गर्दिन । यो आन्तरिक चुनाव हो, कुनै पनि प्रकारको हामीले विजय जुलुस निकाल्नुपर्दैन । कुनै जिन्दावादमुर्दावादको नारा लगाउनु पर्दैन । कसैले फूलमाला लिएर पनि आउनुपर्दैन । राजेन्द्रलाई खादा लिएर गएन भने माला लाइदिएन भने मलाई नराम्रो ठान्छ कि त्यो केही गर्नुपर्दैन ।’
निवर्तमान अध्यक्ष कमल थापालाई २२७ मतान्तरले पराजित गर्दै लिङ्देन पार्टीको अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले १६१७ र लिङ्देनले १८४४ मत प्राप्त गरेका थिए।