एजेन्सी। टी २० विश्वकपमा श्रीलंका सुपर १२ मा प्रवेश गरेको छ। शेख जायद रंगशालामा बुधबार राति भएको खेलमा आयरल्यान्डलाई ७० रनले हराउँदै श्रीलंकाले अर्को चरणमा पुगेको हो।
श्रीलंकाले दिएको १७२ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको आयरल्यान्ड ९ बल बाँकी रहँदै सबै विकेट गुमाएर १०१ रनमा समेटिएको थियो । जवाफी ब्याटिङमा एन्डी बालबिनीले ४१ र कर्टिस क्याम्पफरले २४ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले पूरा ओभर खेल्दै सात विकेटको क्षतिमा १७१ रन बनाएको थियो।
श्रीलंकाका लागि वानिन्दू हसरंगा डि सिल्वाले ४७ बलमा ७१ रन बनाए। ओपनर पठाम निसान्कले पनि ४७ बलमा ६१ रन जोड्दा कप्तान डसुन शंकाले २१ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।
बलिङतर्फ आयरल्यान्डका जोस लिटलले चार ओभरमा २३ रन खर्चिएर चार विकेट हात पारे।
समूह ए मा आयरल्यान्ड र नामिबियाको समान २,२ अंक छ।