Logo

चितवन टाइगर्सले जित्यो इपिएलको उपाधि



Spread the love

२३ असोज, काठमाडाैँ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि चितवन टाइगर्सले जितेको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पोखरा राइनोजलाई चार विकेटले पराजित गर्दै चितवनले उपाधि जितेको हो । चितवनले पहिलोपटक उपाधि जितेको हो । उपाधिसँगै चितवनले रु ५० लाख प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको पोखराले रु १५ लाख पायो ।

पोखराले दिएको ११२ रनको लक्ष्य चितवनले १५ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर पूरा ग¥यो । चितवनको जितमा भीम सार्कीले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४५ बलमा सात चौका र दुई छक्का प्रहार गरे । यस्तै दिलीप नाथले १८ रन जोड्दा राजेश पुलामीले १४ रन बनाए । त्यस्तै मोहमद साहजदले ११ रन जोडे भने कप्तान सोमपाल कामी चार रनमा अविजित रहे ।

पोखराका किशोर महतोले चार विकेट लिए भने नन्दन यादवले दुई विकेट झारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १११ रनमा समेटिएको थियो । पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए भने रिचार्ड लेभीले २६ रन जोडे । विपिन रावलले १७, कप्तान विनोद भण्डारीले २२ तथा किशोर महतो एक रनमा अविजित रहे ।

त्यस्तै विवेक यादव चार, रित गौतम दुई, सहन अर्चाचिगे दुई, विक्रम सोब एक रनमा आउट हुँदा लोकेश बम र नन्दन यादव खाता नखोली पेभेलियन फर्किए । पोखरालाई सस्तैमा समेट्ने क्रममा चितवनका कमलसिंह ऐरीले चार विकेट लिए । यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले दुई÷दुई विकेट लिए । सोमपाल कामी र सागर ढकालको नाममा एक÷एक विकेट रह्यो ।

व्यक्तिगत विधातर्फको उपाधि पनि चितवनकै बर्चस्व रह्यो । चितवनका स्पिनर सागर ढकाल प्लेयर अफ द सिरिज (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन् । उपाधिसहित उनले बजाज पल्सर एनएस २०० सिसी मोटरसाइकल प्राप्त गरेका छन् । त्यस्तै चितवनकै भीम सार्की उदीयमान खेलाडी (इमर्जिङ प्लेयर) चुनिएका छन् । चितवनकै कमलसिंह ऐरी डेर टु ड्रिम अर्वाड पाएका छन् । भीम र कमलले जनही रु ५१ हजार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्