ऊ आज दिनैभरि रोयो |एकतमासले डाँको छोडेर | दिनभरिमा एकछिन पनि रोकिएनन् होला | उसका अबोध आँखाहुदैं बगिरहेका आँशुका ढिक्काहरू | बरू जोडजोडले भक्कानिएरै रोएको भए |पलभरमै रोकिन्थे होलान् | तर ऊ त भख्खरको सानो फुच्चे | के जान्थ्यो र भक्कानो फुटाएर रुन ? त्यो पनि यो हाँस्ने-खेल्ने-रमाउने उमेरमा | यति पनि धेरै जानेको हो उसले | उसलाई जन्माइ दिने उसकी आमाले सिकाएर | नत्र त खै के जान्दो हो र बिचरा |
…
मैले उसलाई चिन्न थालेको पनि धेरै अघिदेखी कहाँ हो र | त्यही पोहोर सालको साउनतिरै त हो सायद | पानीपुरीको खट्टोपिरो अत्यास मेट्न यसो चोकतिर पुगेको थिएँ | पानीपुरी-चटपटे खानेहरूको राम्रै चहलपहल देखिन्थ्यो | अक्सर त्यस्तै भिडभाड हुने गर्थ्यो त्यहाँ | सायद चोकैमा भएर पनि होला | सधैं ब्यस्त हुन्थे यी पानीपुरे अंकल-आन्टी |
चार पांग्रामा टक्क ठडिएको ठेलामाथि एउटा सानो डिब्बा, जहाँ भरिएका थिए पुरीका स-साना डल्लाहरू | अनि नजिकै थियो अमिलो पानी राखिएको एउटा सानो बाल्टी | बाल्टीको उता आन्टी सुरूसुरू आलु तछार्दै, मुछ्दै, अनि पुरीमा कोच्दै प्लेट-प्लेटमा बाँडीरहेकी थिइन् | छेउमा अंकल भने जगमा राखिएको चटपटे लट्ठी घुमाएर फिट्नमा खुबै व्यस्त देखिन्थे | उनका अगाडि थिए डब्बा-डब्बामा सजाइएका चटपटेका सामानहरू | जहाँ देख्न सकिन्थ्यो केही हम्पिटी-डम्पिटी चाउचाउ, अलिकति हरिया मटरहरूको थुप्रो, केही अलिकति बदाम-दालमोठ-खुर्सानी-र-नुनबेसारका पुरियाहरू | अनि सबसे कुनामा थियो भुजाको एउटा ठुलै बोरा | बस्, पसल भन्नु केवल यत्ति मात्रै त थियो | तर मान्छेहरू भने दुवैतिर ठेलमठेल थिए | त्यही ठेलमठेलमा कोचिएर लाइन बिस्तारै अघि बढ्दै थियो |
मेरो पालो आउनै लागेको थियो | धेरै जना खाएर गइसकेका थिए | अब केबल ऊ मात्रै थियो मेरो अगाडि | केटो अलिक हतारमा देखिन्थ्यो | धेरै बेर लाइनमा कुरेर पनि होला सायद उसको हडबडाहट स्वभाविक नै लाग्थ्यो | यसकारण पनि ऊ पहिल्यै प्लेट लिएर बसिसकेको रहेछ | सायद यी झिंगे-फिस्टे कुरामा अल्झिएर समयलाई अझ धेरै तन्काउने पक्षमा थिएन ऊ |
तर दुर्भाग्यवश उसकै पालोमा मुछेको आलु सकिन पुग्यो | उसको खिन्नता झनझन चरमसिमामा पुग्दै थियो | स-साना मंगोलियन आँखाहरू अझ साना हुन थालेका थिए | निधार खुम्चिएर बनेका मुजाहरू टाढैबाट स्पष्ट देखिन्थे | केही ढिलै हुने छाँटकाट देख्यो होला सायद | ऊ अलिक छेउतिर अडेस लागेर कपाल कन्याउन थाल्यो | कपाल पनि ऊ यसरी कन्याउँदै थियो | मानौं कि जुम्राहरूको महासंग्राम भिडन्त हुदैंछ उसको सानो टाउकोमा | र ऊ बचाउन खोज्दैछ उसको टाउको त्यो नरसंहारबाट |
यसो हेर्दै पनि मान्छे ऊ बिचित्रको लाग्थ्यो | उसको हाउभाउ-चालढाल हेर्दा कुनै कोणबाट पनि लाग्दैनथ्यो कि ऊ एउटा आमबालक हो | तर थियो ऊ सानो फुच्चे | गालाभरि सिंगानका टाक्सा-टुक्सीले लत्पतिएको एउटा सिंगाने जाइन् |
…अघिदेखी मैले उसलाई एकोहोरो नियालिरहेको देखेर होला सायद, आलु मुछ्दै गरेकी आन्टीले भनिन्,”तिम्लाई थाहा छ, भाइ ? यो फुच्चे त अजिबको पो छ त | हेर्दा चैं इत्रो डल्ले छ है, बोल्न चैं के-के बोल्छ बोल्छ बाइ |”
यत्तिकैमा, आन्टीले एउटा पुरीको डल्लो झिकिन् र एकपट्टी सानो प्वाल पार्दै आलुको थुम्को हालेर भरिन् | आलु भरिएको पुरीको डल्लो अमिलो पानीमा चुमलुंग डुबुल्क्याउँदै सोधिन्,”ओइ फुच्चे!!! कति प्लेट खान्छस् हँ ?”
मुठ्ठी पारिएका कच्याककुचुक पैसाहरू आन्टीलाई दिदै उसले भन्यो,”यति रुप्याको कति आउँछ, त्यत्ति खान्छुँ |”
“पाँच.दस..बाह्र..चौध…पन्ध्र | त्यैट!! यस्को त एकै प्लेट पनि आउँदैन केटा | जा भाग् |”
“ओइ, मा…बिप_बिप…की छोरी | जति आउँछ त्यति भएनी दे न |”ऊ झर्कियो | उसको सिग्नेचर अन्दाजमा | ऊ बिल्कुल निसंकोच बोलिरहेको थियो ती शब्दहरू | सायद उसलाई तिनको अर्थ-अनर्थप्रति पनि कुनै सरोकारै थिएन | सबैजना हाँसीरहेका थिए, उसका शब्दहरूमा | सबजना उडाइरहेका थिए | उसलाई अनि उसले बोलेका प्रत्येक शब्दहरूलाई | म भने अघिदेखी उसको सपाट अनुहारलाई नियालिरहेको थिएँ | बिल्कुल भाव:शुन्य अन्दाजमा |
“देख्यौ त भाइ | कम्ताको छ यो फुच्चे |”आन्टी खिस्स मुस्कुराइन् |
कैलेकाहीं त मान्छे हाँसेको पनि नसुहाँउदो रैछ | त्यो दिनको उनको हाँसो मलाई फिटिक्कै मन परेन | पहिल्यैका पहेँला दाँत त्यो दिन झन पहेँला देखिए | अनुहारमा डिम्पल चाउरिएर बनेका खाल्डाखुल्डीहरू स्पष्ट देखिन थाले | समग्रमा उनको हाँसो रोदनजस्तो देखिन पुग्यो | तर विवश थिएँ म, कि नचाहँदा-नचाहँदै पनि उनको हाँसो नहेरी बस्न सक्दैनथें | हाय ! मेरो कर्म |
…ऊ अब जान थालेको थियो | एक प्लेटै नआएपनि उसको पैसाले आउनेजति पानीपुरी खाएरै छोड्यो उसले | उसले छोड्दै छोडेन आफ्नो जिद्दीपन | अन्तत: केही सिप नलागेपछि आन्टीले चार ओटै पुरी भएपनि दिएर पठाउने निधो गरेकी थिइन् |
मेरो नजिकैबाट जादैं थियो, आन्टीले फेरी बोलाइहालिन् |
“ओई फुच्चे, यता सुन् त | आजकल तेरी आमा कहाँ गाछिन् हँ ? चोकतिर आउन छोडेको पनि निकै भइसक्यो त | पैले-पैले सधैं आइरहने मान्छे हिजोआज पानीपुरी खानै पनि छोडिन् | बुढी काँ गइन् हँ ?”
“हाम्री आमा त पोइल गइछिन् रे |”ऊ हिड्दै बोलिरहेको थियो,”हिजो मात्रै मलाई ऊ…त्यो दाइले भनेको |”
यति भनेर ऊ सरासर आफ्नो बाटो लाग्यो | तर यता अंकल-आन्टी भने झनझन मरीमरी हाँसीरहेका थिए | यसपटक त बुढाबुढीलाई हान्दिउँ जस्तो पनि लाग्यो | हुन पनि अब त मलाई निकै गाह्रो हुन थालिसकेको थियो | एड्गर् एलान पोएको कथा ‘अ टेल-टेल हार्ट’ मा झैं मलाई पनि सिध्याइदिन मन थियो, यी बुढाबुढीका गिद्दे गिजाहरू | अनि तिनै काला गिजामाथि टल्किरहेका पहेंला दाँतहरू | तब बल्ल रोकिन्थ्यो होला | यो बकवास हाँसोको अनन्त श्रृंखला | तर के गर्नू धेरै सोझो हुनु पनि कैयौं ठाउँमा त अपच हुदों रैछ |
हाँस्दा-हाँस्दा आन्टीको पेटै दुखेछ क्यार ! उनी अलिक छेउको मुढामा गएर बसिन् | अनि, चोलीको सानो गोजीबाट एउटा खुकुरी चुरोटको खिल्ली झिकेर सलाइको काँटीले झ्वार्र सल्काइन् | फुच्चेको कुरो अझै उनलाई रसिलो लागिरहेको थियो | त्यही रसको स्वाद लिदैं उनी फेरी बक्न थालिन् |
“यो फुच्चेसँग त मैले सक्दै नसक्ने भएँ ल | कतिसम्म चंखे हुन सक्या होला बाबै |”अन्तिममा एकचोटी फेरी उनी गलल्ल हाँसीन्,”आफ्नी आमा पोईल गाको कुरो पनि कोई यसरी भन्न सक्छ होला त ? हरे शिव !!!”
त्यो दिन एक एेतिहासिक दिन थियो | जहाँ एउटी महिला आफुजस्तै अर्की महिलाको ‘कु’ माथि खुलेर हाँस्दै थिइन् | त्यो पनि यति सजिलै सँग ? कसरी सक्छन् होला मान्छेहरू ! कसैको पिडालाई यति सस्तो चुटकिला बनाएर खुलेयाम हाँस्न ! मलाई अचम्म लाग्छ |
एकचोटी ऊ गएतिर हेरें | ऊ निकै टाढा पुगिसकेको थियो | तर टाढै भएपनि उसको बेफिक्र हिंडाइलाई म थोरै भएपनि नजरअन्दाज गर्न सक्थें | ऊ यसरी हिडिंरहेको थियो मानौं ऊ घर गएर उसकी प्रिय आमालाई नै भेट्नेवाला छ | सायद ऊ यही सोचिरहेको पनि हुन सक्छ | कि कतै उसकी आमा आइ पो सकिन् कि | ऊ त बिचरा यति पनि जान्दैन होला कि ‘पोईल जानु’को अर्थ के हो | उसलाई त अझै लाग्दो हो कि उसकी आमा कतै टाढाको ‘पोइल’ नाम गरेको गाँउमा गाछिन् | कुनै न कुनै दिन त अवश्य फर्की हाल्छिन् नि | ऊ त बिचरा अझ,”फर्केर आउँदा आमाले कतै ‘चकलेट’ पनि ल्याइदी हाल्छिन् कि !” भन्ने आशमा पनि हुन सक्छ |
…
त्यो दिन देखि जबजब उसलाई देख्छु | रोइरहेको होस् या त रोइसकेर आँशु पुछ्दै गरेको | तब उसलाई जन्माउने या भनौं जन्माइदिने उसकी प्यारी आमाको तस्बिर कोर्ने कोसिस गर्छु | तर, अहँ मरिगए सक्दिनँ |
म त कल्पनै पनि गर्न सकिरहेको छैन | त्यो मातृमुहारको | जो आफ्नै सन्तानलाई छोडेर अरू कसैकी हुन राजी भइन् | मैले देखे-भोगे अनुसार त आमा मातृस्नेहले भरिपुर्ण हुन्छन् | आफ्नाे सन्तानका लागि ती जे पनि गर्न सक्छन् | परिआए आफ्नो ज्यानै दिन पनि | झन चटक्कै छोडेर जाने त कुरै भएन | तर उनी ! खै कस्ती आमा हुन् | आफु हाँस्न, आफ्नो सन्तानलाई रुवाएर गइन् | हाय !!!
…
ऊ त्यसरी तारन्तार रोईरहेको हेरीरहें मैले | डेराकोठाको झ्यालमा बसेर | टुलुटुलु… | फगत टुलुटुलु | बाऊ काममा गएकाले रुदै रैछ ऊ | एक्लै बस्नुको पिडालाई आँशुका धाराले सम्याउन खोज्दै थियो ऊ | तर सम्मिनुको साटो झनझन अग्लिरहेको थियो उसको पिडा | हृदयका कतिपय पिडाहरू केवल रूदैंमा हल्का नहुदाँ रैछन् | किनभने उसलाई थाहा छ रूनु त उसलाई भोलि पनि पर्ने नै छ |
उसलाई लाग्न थालिसकेको थियो कि उसकी आमा अब कहिल्यै फर्किनै वाला छैनन् | सदाका निम्ति पराई भइसकिन् उनी | ऊ रूनुमा कुनै तुक थिएन | बस् अफसोस त यस कुरामा थियो | कि अब उपरान्त घोप्टो परेर रुनलाई कसैको काख थिएन उसँग | सुक्क-सुक्क रूदाँ टाउकामा हाँत थप्थपाउदैं गाला सुम्सुम्याउने अब कोही थिएन | बाउ त थियो | तर सधैं रक्सी धोकेर उसलाई हपार्थ्यो मात्र | कहिल्यै मिठो वचन निस्किएनन् | उसको गन्हाउने मुखबाट | निस्किए त केबल रक्सी मिसिएका थुकका बा-छिटाहरू | तैपनि उसलाई त्यही बाउ नै आजकल प्रिय लाग्थ्यो | झगडै-झगडाको बिचमा पनि कतै माया लुकेर बसेको हुदो रैछ | जुन कसैको अनुपस्थितीमा मात्रै चाल पाइदो रैछ | र त आज ऊ, उसको बाउको अनुपस्थितीमा | सदाझैं घरछेउको पर्खालमा अढेस लाएर खुबै रुदै थियो |
“तिम्रो बाबा छिट्टै आउनुहुन्छ, बाबु |नरोऊ न | धेरै रोयो भने त नि फेरी अैले, ह्याउअ् परेको यत्रो-ठुलो भुत आउँछ | त्यही भर रुनु हुन्न है | बरू तिम्लाई म अैले क्याडबरी ल्याईदिम्ला, है | नरो कान्छा |”
….तर अहँ | लाख कोसिस गरेपनि ऊ बिल्कुल थामिएन | उसको अमुल्य आँशु थाम्ने शक्ति थिएन सायद | मेरो क्याडबरीमा | उसलाई त अहिले यसको खाँचै थिएन | खाँचो थियो त केबल एउटा प्रिय न्यानो काखको | जसमा ऊ आफ्नो फुच्चे काँध बिसाउन सकोस् | दुःख बिसाउन सकोस् | अनि खुसीका आँसुले फरिया भिंजाउन सकोस् |
तर अफसोस ! त्यो काख त उसका लागि अब बिरानो भइसकेको थियो | उसको काँधलाई एक्लै छोडेर अन्जान ठाँउमा पोईल गईसकेको थियो |
अब उसँग छ त बस् यही एउटा मौन पर्खाल | जो उसलाई न त काख दिन सक्छ न त कुनै साख | बस् हेरीरहन्छ | टुलुटुलु | जस्ट अ ड्याम फगत टुलुटुलु | बिल्कुल मैले हेरे जस्तै…..