Logo

यसकारण मृत्यु रोज्न वाध्य छन् लैंगिक अल्पसंख्यक



१३ भदाै, काठमाडाैँ । केही दिनअघि पारलिंगी महिला (ट्रान्सवुमन) अमिशा भण्डारी आफैंलाई सिध्याउने कठोर निर्णयमा पुगिन्। २० दिन अस्पताल बसेपछि ठीक त भइन्, अझै सामान्य भएकी छैनन्। १५ दिन भेन्टिलेटर र ५ दिन हाई केयरमा उपचार गरी नयाँ जीवन दिन चिकित्सक सफल भए।

धन्न यो समुदायको संस्था नीलहिरा समाज थियो र उपचार सम्भव भयो। अध्यक्ष पिंकी गुरुङले यसको चाँजो मिलाएकी थिइन्। ‘अत्यन्तै तनावमा थिएँ। नशाको तालमा नराम्रो निर्णय लिएछु’, भण्डारीले भनिन्। तनाव अरू केहीले होइन, लैंगिक अल्पसंख्यकलाई राज्य र समाजले हेर्ने दृष्टिकोण अनि पाइला–पाइलामा दिने दुःखले सिर्जना गरेको थियो।

नीलहीरा समाजको तथ्यांकअनुसार लकडाउनमा मात्र २४ जना लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिले स्वेच्छिक मृत्यु रोजेका छन्। अध्यक्ष गुरुङले भनिन्, ‘बेलैमा उपचार गरेर भण्डारी र अरू ३ जनालाई चाहिँ बचाउन सफल भयौं।

आवेगमा आएर ज्यानै फाल्ने निर्णय गर्नुको पछाडि विभिन्न कुराले प्रेरित गरेको उनीहरूको तर्क छ। झुटो प्रेम, बुलिङ, अपहेलना, तिरस्कार, परिवार, समाजको अस्वीकार, अनावश्यक दबाब, आर्थिक भार, लैंगिक पहिचान नहुनु आदि मुख्य जड बनेका छन्।

भण्डारीले पनि आफ्नो वैवाहिक जीवनमा असन्तुलन महसुस गरेकी थिइन्। तर, उनले कसैलाई पनि यस्तो कदम नउठाउन आग्रह गरिन्। भनिन्, ‘शरीर पूरै गलेको छ, निकै गाह्रो हुँदोरहेछ। आवेगमा आउँदा दुःख पाइने रहेछ। जिन्दगीको महत्व बुझांै, अमूल्य जीवन खेर नफालौं।’

लकडाउनकै बीच धनगढीमा समलिंगी महिला जोडीले एउटै रूखमा झुण्डिएर ज्यान फाले। उक्त दुर्घटना निम्तिन आर्थिक समस्या रहेको बताइएको छ। २३ र २४ वर्षका ती जोडी नेपाल–भारत सीमाबाट सामान ल्याएर व्यापार गर्थे तर लकडाउनपछि यो चलेन।

नीलहीरा समाजमा कार्यरत मिलन शाहका अनुसार सुदूरपश्चिमबाट आएका ती जोडी दिदीको घरका बस्थे। तर, आफन्तहरू पैसा भइन्जेल माया गर्ने र नभएपछि हेला गर्न थाले। ‘व्यापार बन्द भयो। आफन्तले हेला गर्न थाले। आर्थिक भार र अपहेलनाका कारण ज्यानै लिएको देखियो।’

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्