Logo

सीमा स्तम्भमा सुरक्षाकर्मीको पहुँच



Spread the love

७ भदाै, हुम्ला । हुम्ला खण्डको उत्तरतर्फ नेपाल र चीनबीचका १५ वटा सीमा स्तम्भमा सीमा सुरक्षा चौकी (बीओपी) हिल्सामा सुरक्षाकर्मी पुगेपछि अनुगमन सहज भएको छ । पछिल्लो पटक सशस्त्र प्रहरी बलका एक टोली सीमा स्तम्भ नम्बर ४ मा पुगेपछि त्यस क्षेत्रका सबै स्तम्भमा नेपालका सुरक्षा निकायको पहुँच पुगेको हो ।

यसअघि केही स्तम्भमा सुरक्षाकर्मी पुगेको र केहीमा पुग्न नसकेका कारण सीमा स्तम्भको अवस्थाबारे स्पष्ट जानकारी लिन सक्ने अवस्था थिएन । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले हिल्सामा बीओपी स्थापना भएयता सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको बताए ।

यस क्षेत्रमा सीमा स्तम्भ स्थापनापछि सीमा स्तम्भ नम्बर ३, ४, ११ र १२ मा केही महिना अघिसम्म कुनै सरकारी निकाय पुगेका थिएनन् ।

एक वर्षको अवधिमा सरकारी पक्ष सबै स्तम्भमा पुग्न सफल भएको उनले बताए । अब सुरक्षा निकाय हुम्ला जिल्लाअन्तर्गत पर्ने सबै सीमा स्तम्भबारे जानकार रहेको र नियमित अनुगमन गर्न पनि सहज भएको उनले बताउनुभयो । सबै सीमा स्तम्भमा सुरक्षाकर्मी पुग्न सफल हुँदा वर्षौंदेखि सीमा स्तम्भ कता छन् भन्ने कुराको अन्योल पनि हटेको छ ।

सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख तथा सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारीका अनुसार हुम्लाअन्तर्गत पर्ने चारवटा सीमा स्तम्भ पाँच हजार मिटरभन्दा अग्ला स्थानमा रहेका छन् ।

यी स्थानमा पुग्न सुरक्षाकर्मीलाई निकै कष्ट गर्नु परेको बताउँदै उनले अबदेखि अग्ला स्थानका सीमा स्तम्भमा वर्षको एक पटक अनिवार्य रूपमा बीओपीको टिम अनुगमनमा पुग्ने र अन्य होचा स्थानका ११ वटामा भने नियमित जाने बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्