Logo

नयाँ वर्ष: वैशाख १ मा किन र कहाँकहाँ मनाइन्छ



काठमाडौं। नयाँ वर्षको प्रसङ्ग आउनासाथ हामी सबैको मनमा नयाँ उत्साह जागृत हुन्छ। अहिले नेपालसहित एशियाका विभिन्न देशमा फेरि एउटा नयाँ वर्ष मनाउने क्रममा छौँ।

सांस्कृतिक विविधता भएका विभिन्न देशमा अनेकौँ संवत्‌ र पात्रो/पञ्चाङ्गहरू प्रचलनमा छन्। त्यसैले त्यहाँ ३६५ दिनमा धेरै नयाँ वर्षहरू मनाउने गरिएको पाइन्छ।

नेपालमा विक्रम संवत्‌ले सांस्कृतिक र औपचारिक मान्यता पाएको छ। त्यसअनुसार वैशाख १ गते संवत् २०७८ को नयाँ वर्ष मनाइँदैछ। तर यो दिन वर्ष परिवर्तन भएको मान्ने चलन नेपालमा मात्र सीमित छैन। भारत, बाङ्ग्लादेश र श्रीलङ्कासहित एशियाका केही अन्य देशमा पनि यही दिन नयाँ वर्ष मनाइन्छ।

कालगणनाको महत्त्व किन?

मानवजातिले आफूले प्रकृतिमा देख्ने घटनाक्रम तथा परिवर्तन अनि आफ्नो व्यवहार र गतिविधिको लेखाजोखा र व्यवस्थापन गर्न समयको गणना गर्न थाल्यो।

त्यसका लागि परापूर्वकालदेखि नै निश्चित समय तोकेर कालनिर्धारण गर्न थालियो। गणितीय र ज्योतिषीय ज्ञान विस्तार भएसँगै समयलाई दिन र रातमा मात्र सीमित नराखेर वार, तिथि, महिना र वर्षजस्ता अवधिमा वर्गीकरण गरियो।

संवत् जुनसुकै भए पनि पूर्वीय ज्योतिषीय परम्परा अनुसरण गर्ने अधिकांश पञ्चाङ्गमा वैशाख १ मा नयाँ वर्ष आरम्भ हुन्छ।

के भन्छ पूर्वीय ज्योतिषशास्त्र?

सूर्यको स्थितिअनुसार दिनरात र मिति छुट्याइने कुरा त सर्वविदितै छ। त्यसैगरी चन्द्रमाको कलाअनुसार तिथि र पक्ष निर्धारण गरिन्छ। सृष्टिको संरचना चैत्र शुक्ल प्रतिपदामा भएकाले त्यस दिनलाई वर्षको पहिलो दिन मान्ने प्रावधान भएको वैदिक ज्योतिषको शास्त्रीय मान्यता छ। प्रसिद्ध ग्रन्थ “हेमाद्रि”मा यो कुरा लेखिएको छ।

विधिवत् वर्षसहित कालगणना आरम्भ गरिँदाको पहिलो दिनलाई वर्षको पहिलो दिन मानिएको हुनसक्ने आधारहरू छन्। पूर्वीय वैदिक ज्योतिषशास्त्रको प्रसिद्ध ग्रन्थ “सिद्धान्तशिरोमणि” मा भास्कराचार्यले लङ्कामा सूर्योदय हुँदा सूर्यकै वार अर्थात् आइतवार र चैत्र शुक्लपक्षको प्रतिपदा तिथि परेको लेखेका छन्।

लङ्कानगर्यामुदयाच्च भानोस्तस्यैव वारं प्रथमं बभूव।

मघोः सितादेर्दिनमासवर्षयुगादिकानां युगपत्प्रवृत्तिः ॥ – सिद्धान्तशिरोमणि

अनि ३६५ दिनको वार्षिक चक्रको आरम्भ पनि त्यही तिथिबाट गर्न थालिएको मानिन्छ।

नयाँ वर्ष कसरी निर्क्योल गरिन्छ?

चान्द्रमानबाट हेर्दा चैत्र शुक्लप्रतिपदाको दिनदेखि नयाँ वर्ष मान्ने र सौरमानअनुसार सूर्य मेषराशिमा प्रवेश गर्ने प्रथम सूर्योदयलाई वर्षको पहिलो दिन मान्ने चलन छ।

शुक्लपक्षको प्रतिपदा (परेवा) देखि कृष्णपक्षको अमावास्या (औँसी) सम्मको अवधिलाई चान्द्रमान भनिन्छ । एउटा राशिमा सूर्य प्रवेश गरेको समय (सङ्क्रान्ति) देखि अर्को राशिमा सूर्य प्रवेश गरुन्जेल (अर्को सङ्क्रान्ति) सम्मको अवधिलाई सौरमान भनिन्छ।

सूर्य

साधारणतया चैत्र शुक्लप्रतिपदा भएको तथा मेषराशिमा सूर्य प्रवेश गरेको दिन अर्थात् वैशाख १ गतेलाई नयाँ वर्षको पहिलो दिन मान्ने प्रावधान छ। तर कालगणना गर्दा अढाई-अढाई वर्षमा पर्ने अधिकमास (मलमास) का कारण र कहिलेकाहीँ तिथि क्षय हुने हुँदा समय मिलाउँदा एकैदिन दुवै कुरा सधैँ एकैचोटि पर्दैनन्। त्यसैले चान्द्रमान र सौरमानअनुसार गणना गरेर नयाँ वर्ष निर्धारण गर्न थालियो।

पञ्चाङ्गमा हुने तिथि चान्द्रमानअनुसार र भित्तेपात्रमा लेखिने मिति सौरमानअनुसार गणना गरिएका हुन्। त्यसै कारणले हामीले मनाउने तिथिअनुसारका चाडपर्व र जन्मतिथिहरू प्रत्येक वर्ष एकै मितिमा पर्दैनन्।

यसपालि नयाँ वर्षको पहिलो दिन बुधवार परेको छ। तर चैत्र शुक्लप्रतिपदा अघिल्लो दिन अर्थात् चैत्र ३१ गते परेको थियो तथा सूर्यले मेषराशिमा पनि त्यही दिन प्रवेश गरेको थियो। चान्द्र र सौर्य दुवै मानले एकैदिन परे पनि भोलिपल्टको दिनलाई किन नयाँ वर्षको आरम्भ मानियो त?

मङ्गलवार सूर्यले राशिप्रवेश मेषमा गरे पनि ज्योतिषीय एवं धर्मशास्त्रीय मतानुसार सूर्योदय उप्रान्तको समयमा प्रवेश गरेको हुनाले सूर्योदय भएको समयमा जुन तिथि हुन्छ त्यसैलाई आधार मानेर दिन निर्धारण गर्ने प्रचलन छ। त्यसैले यसपालि बुधवारलाई नयाँ वर्षको पहिलो मानिएको हो

नेपालमा संवत्‌को ऐतिहासिक प्रचलन कस्तो?

काठमाण्डू उपत्यकामा पाइएका प्राचीन अभिलेखहरूमा धेरै संवत्‌हरू उल्लिखित भएको देखिन्छ। तीमध्ये कलिगत संवत्, विक्रम संवत्, शक संवत्, मानदेव संवत् र नेपाल संवत् प्रमुख हुन्।

यी सबै संवत्‌को धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व छ। कलिगत संवत्‌को विक्रम संवत्‌सँग अन्तर ३,०४४ वर्ष र शक संवत्‌सँग ३,१७९ वर्ष छ। विक्रम संवत् राजा विक्रमादित्य र मानवदेव संवत् राजा मानदेवको सम्मानमा नामकरण गरिएको मान्यता छ।

चन्द्र शमशेर प्रधानमन्त्री हुँदा नेपालमा विक्रम संवत्‌लाई सरकारी कामकाजमा प्रयोग गर्न थालिएको मानिन्छ। हिजोआज ग्रेगोरीअन पात्रोअनुसारको इस्वी संवत् पनि प्रचलनमा छ।

नेपालमा मनाइने अरू नयाँ वर्ष के-के हुन्?

वैशाख १ र ज्यानुअरी १ बाहेक नेपालमा अरू नयाँ वर्ष पनि मनाइन्छ।

नेपाल संवत्‌को नयाँ वर्ष

काठमाण्डू उपत्यकामा विसं ९३७ को मध्यान्तरदेखि नेपाल संवत् प्रारम्भ भएको देखिन्छ। कार्तिक शुक्ल प्रतिपदा तिथिका दिनदेखि यो संवत्‌ फेरिन्छ। नेपाल संवत्‌को गणना चान्द्रमानअनुसार हुन्छ। नेवार समुदायमा यो संवत्‌को ठूलो सांस्कृतिक महत्त्व छ।

ल्होसार

नेपालमा हिमाली र पहाडी समुदायका मानिसहरू आफ्नो जातिगत नयाँ वर्षको रूपमा ल्होसार मनाउँछन्। केही हिमाली जिल्लामा बसोबास गर्ने केही समुदायले पौष शुक्ल प्रतिपदामा तोला ल्होसार, तामाङ तथा अन्य समुदायले माघ शुक्लप्रतिपदामा सोनाम ल्होसार र शेर्पाहरूले फागुन शुक्लप्रतिपदामा ग्याल्पो ल्होसार मनाउँछन्।

गुरुङ समुदायले पौष १५ गते मितिका आधारमा तमु ल्होसार मनाउने गरेको छ। ल्होसार विभिन्न १२ जनावरको नाममा वर्गीकरण गरिएको छ । पहिलो वर्ष मुसादेखि सुरु हुँदै बाह्रौँ सुँगुरमा सकिन्छ। अनि फेरि त्यही चक्र दोहोरिन्छ।

माघ १ र माघी

किराँत समुदायले मान्ने गरेको येल संवत्‌को नयाँ वर्ष माघ १ गते पर्छ।माघे सङ्क्रान्तिका दिन थारू समुदायले पनि माघीका रूपमा नयाँ वर्ष मनाउँछ। तर उक्त समुदायमा संवत् गणना भने टुटेको देखिन्छ। नजिकैबाट हेर्दा सूर्य यस्तो देखिन्छ

अरू कहाँकहाँ वैशाख १ मा नयाँ वर्ष मनाइन्छ?

नेपाल, भारत, बाङ्ग्लादेश, श्रीलङ्का र दक्षिणपूर्वी एशियाका केही देशमा यही दिन नयाँ वर्ष मनाइन्छ।

भारत

ब्रिटिश औपनिवेशिक शासनका बेला भारतमा ग्रिगोरीअन पात्रो प्रचलनमा आयो। तर चाडपर्वहरू भने तिथिअनुसार मनाउने प्रचलन कायम नै छ।भारतका केही प्रान्तमा वैशाख १ गते नयाँ वर्ष मनाइने गरेको छ।

  • पञ्जाबः बैशाखी
  • केरलाः विशु
  • असमः बिहु
  • तमिलनाडुः पुठान्डु
  • उडिसाः पान सङ्क्रान्ति
  • बङ्गाल र त्रिपुराः पोइला बैशाख

बाङ्ग्लादेश

बाङ्ग्लादेशमा पनि भारतको बङ्गालमा जस्तै “पोइला बैशाख” अर्थात् पहिलो वैशाख भनेर नयाँ वर्ष मनाइन्छ। बङ्गालीहरू “शुभो नोबोबोरसो” भनेर नयाँ वर्षको शुभकामना आदानप्रदान गर्छन्।

श्रीलङ्का

श्रीलङ्कामा सिंहली नयाँ वर्षलाई अलुथ अवुरुदा पनि भनिन्छ।

थाईल्यान्ड

थाईल्यान्डमा नयाँ वर्षलाई “सङ्क्रान” पर्व भनिन्छ। नयाँ वर्षको अघिल्लो र पछिल्लो दिनसहित तीन दिन उल्लासपूर्वक यो पर्व मनाइन्छ।संस्कृतको शब्द सङ्क्रान्तिबाट “सङ्क्रान” भनिएको विज्ञहरूको मत छ।

बर्मा

बर्माको नयाँ वर्षलाई “थिङ्ग्यान” जलोत्सव भनिन्छ। बर्मेली भाषामा थिङ्गयानको अर्थ फेर्नु हो। स्तूपहरूमा भएका बुद्धका मूर्तिमा पानी चढाएर पखालेको पानी सेचन गरेर पवित्रताका साथ सुख समृद्धिको कामना गर्ने पर्वका रूपमा यसलाई लिइन्छ ।

लाओस

लाओसमा वैशाख १, २, ३ गते गरी तीन दिन नयाँ वर्षको उत्सव मनाइन्छ। त्यहाँ नयाँ वर्षलाई “सङ्क्रान” वा “पी माय” भनिन्छ। यसको अर्थ नयाँ सङ्क्रान्ति वा नयाँ वर्ष भन्ने हुन्छ।

क्याम्बोडिया

क्याम्बोडियामा नयाँ वर्षलाई “चौल छ्नाम थमाय” भनिन्छ। यसको अर्थ नयाँ वर्षको प्रवेश हुन्छ। त्यहाँ वैशाख १ गतेदेखि तीन दिन नयाँ वर्षको उत्सव मनाइन्छ। बिबिसी

प्रतिक्रिया दिनुहोस्