Logo

किन बीबीसीले केही राजपरिवार मृत्युलाई यति विस्तृत रूपमा प्रस्तुत गर्छ



Spread the love

एजेन्सी । अहिले समाचार फरक देखिएको छ। बीबीसीको वेबसाइट र समाचार बुलेटिनमा एउटै विषयका धेरै पाटाहरूबारे समाचार बनाइएको छ। समाचारमा हल्का विषय हुने छैन। र बीबीसीको रेडियो/टेलिभिजनमा समाचार वाचकको स्वर पनि गम्भीर हुनेछ।

यो परिवर्तन यूकेको एकजना वरिष्ठ सदस्यको देहान्तका कारण भएको छ। यदि अहिले तपाईँ समाचार पढिरहनुभएको छ वा रेडियो टेलिभिजन सुनिरहनुभएको छ भने तपाईँलाई थाहा भइसकेको छ ब्रिटिश महारानी एलिजाबेथका पति राजकुमार फिलिपको निधन भएको छ।

राजपरिवारका चार वरिष्ठ सदस्यमध्ये एक भएका कारण बीबीसीले यसरी उनीबारे रिपोर्टहरू प्रकाशित र प्रसारित गरिरहेको छ। चार वरिष्ठ सदस्यमा उनीबाहेक महारानी एलिजाबेथ द्वितीया, उनका छोरा तथा उत्तराधिकारी राजकुमार चार्ल्स (प्रिन्स अफ वेल्स) र राजकुमार चार्ल्सका छोरा तथा दोस्रो उत्तराधिकारी राजकुमार विलियम (द ड्यूक अफ केम्ब्रीज)हुन्।

यस्तो लाग्न सक्छ कि बीबीसीले अरू मिडियाको तुलनामा राजपरिवारको देहान्त सम्बन्धी समाचार असाध्यै गम्भीरतापूर्वक कभर गरिरहेको छ? यस्तो किन भइरहेको छ?

राजपरिवारको निधन बीबीसीका लागि ठूलो विषय किन हो ?

महारानी एलिजाबेथ द्वितीय सबभन्दा लामो समयदेखि सिंहासनमा छिन्। उनी ६९ वर्षदेखि सिंहासनमा छिन्। उनी यूके र अन्य १५ देशकी राष्ट्राध्यक्ष पनि हुन्।

उनी कमनवेल्थकी प्रमुख पनि हुन्। कमनवेल्थ ५४ वटा स्वतन्त्र देशहरूको स्वयंसेवी संस्था हो ती सबैजसो देशहरू कुनैबेला ब्रिटिश शासन अन्तर्गत रहेका थिए। उनी ब्रिटेनका नागरिक र अन्यका लागि विशेष महत्त्वकी व्यक्ति हुन्।

जहिले पनि ब्रिटिश राजपरिवारका कुनै व्यक्तिको देहान्त हुँदा दुनियाँभरका मिडियाको ध्यान त्यतै हुन्छ। बीबीसी यो समाचार सहीसँग सम्प्रेषण गर्न हर सम्भव प्रयत्न गर्छ र त्यो राम्रो कारणका लागि हुन्छ।

बीबीसी सञ्चालन गर्न आवश्यक खर्च ब्रिटिश सरकारबाट होइन सिधै ब्रिटिश नागरिकहरूबाट लाइसेन्स शुल्क मार्फत आउँछ। यस्तो खर्च व्यवस्थाकै कारण बीबीसीमा सम्पादकीय स्वतन्त्रता सुनिश्चित गर्न मद्दत पुग्छ।

लाइसेन्स शुल्क उपलब्ध गराउने जनताको हितलाई ब्रिटेनको राजपरिवारमा विशेष जोड दिने गरिएका कारण बीबीसीले नागरिकहरूप्रति महत्त्व दिन आवश्यक छ।

जब क्विन मदर नामले चिनिने महारानी एलिजाबेथकी आमाको सन् २००२ मा निधन भएको थियो, उनको शवलाई वेस्टमिन्स्टर दरबारमा तीन दिनसम्म राखिएको थियो। त्यहाँ एक लाखभन्दा बढी मानिसहरू शोक प्रकट गर्न पुगेका थिए। उनको शव विन्डसरमा अन्तिम संस्कारका लागि लगिँदा दश लाखभन्दा बढी मानिसहरू सडकमा लामबद्ध भएका र टेलिभिजनमा १ करोडभन्दा बढी मानिसले हेरेका अनुमान गरिन्छ।

संसारभर विभिन्न मिडियाले यो खबरलाई विशेष महत्त्वका साथ प्रकाशन प्रसारण गरेका थिए। राजपरिवारसँग जोडिएका कुनै सदस्यसम्बन्धी समाचार पूरा संसारमा चर्चामा आउँछ त्यसैले यो त्यति आश्चर्यजनक कुरा होइन।

राजपरिवार सम्बन्धी कुनै समाचार दुनियाँभरमा अरबौँ मानिसले हेर्ने गर्छन्। त्यसैले राजपरिवार सम्बन्धी समाचार ठूलो समाचार हो र बीबीसीले पनि त्यसलाई त्यत्तिकै महत्त्व दिने गर्छ।

बीबीसी शाही संवाददाता जनी डायमन्ड भन्छन्, “शाही विषयले अझ पनि त्यति धेरै ध्यान खिच्न सफल हुन्छ जुन ‘सेलिब्रिटी समाचार’ ले पनि खिच्दैन।”

“यस्तो किन हुन्छ भन्न मुस्किल छ। तर अहिले पनि धेरै मानिसहरूले मनमा आधुनिक समयमा राजपरिवारका कुरा बेतुक जस्तो लागे पनि उनीहरू शाही कथा सुन्न रमाइलो मान्छन्।”

बीबीसी विश्व सेवा यस्ता ठूला घटनाबारे समाचार पस्किने स्थानका रूपमा उपलब्ध हुने ठान्न सकिन्छ। बीबीसी विश्व सेवाका समाचार प्रमुख (वर्ल्ड सर्भिस ल्याङ्वेज कन्ट्रोलर) तारिक कफाला भन्छन्, “विश्वभर शाही परिवारका वरिष्ठ सदस्यको निधनबारे मानिसहरूमा विशेष रुचि हुन्छ। बीबीसीको संसारमा १० करोड भन्दा बढी दर्शक श्रोता र पाठक छन्। उनीहरू यस प्रकारका घटनामा विशेष कभर होस् भन्ने अपेक्षा राख्छन्।”

ब्रिटेनको राजपरिवारका वरिष्ठ सदस्यको देहान्तको रिपोर्ट बीबीसीले कसरी गर्छ?

बीबीसीका दर्शकहरूलाई लाग्न सक्छ मैले त यो समाचार बीबीसीभन्दा पहिले अन्त किन देखेँ? त्यो किनभने बीबीसी कुनै पनि समाचार सबभन्दा पहिले छाप्ने भन्दा पनि समाचारलाई सही तरिकाले रिपोर्ट गर्नमा विश्वास राख्छ।

समाचार ब्रेकिङ अर्थात् भर्खरै प्राप्त समाचारभन्दा कुनै विषयको औपचारिक घोषणा जस्तो लाग्न सक्छ। अरू मिडिया संस्थाले आकर्षक ग्राफिक्स प्रयोग गर्न सक्छन् तर बीबीसीको समाचार तौलीतौलीकन देहान्त भएका व्यक्तिको जीवन स्मरण गर्नेमा जोड हुन्छ।

मृत्युको घोषणा लगत्तै बीबीसीले तत्काल अन्य विषयमा रिपोर्टिङ नगर्न सक्छ। केही हल्का विषयहरू वेबसाइट रेडियो र टेलिभिजनका न्यूज बुलेटिनबाट हटाउन पनि सक्छ।

शाही परिवारमा भएको मृत्युको घण्टौँपछि पनि वेबपेज अथवा समाचार बुलेटिनमा उक्त निधन सम्बन्धित समाचार नै मुख्य समाचार हुनेछ।

राजकुमार फिलिपलाई विशेष महत्त्व किन दिइएको छ?

राजकुमार फिलिप राजगद्दीका उत्तराधिकारी थिएनन् त्यो साँचो हो- जुन उनका जेठा छोराले प्राप्त गरेका छन्- र उनले कहिल्यै राजाको पदवी पाएनन्।

त्यो किनभने यदि कोही महिला राजासँग बिहे गर्छिन् भने यूकेमा उनले रानीको उपाधि पाउँछिन् तर कोही पुरुषले महारानीसँग बिहे गरे पनि राजाको उपाधि पाउन सक्दैनन्।

उनी सन् १९४७ को नोभेम्बर २० तारिखमा बिहे भएपछि महारानी एलिजाबेथका निरन्तरका नजिकका सहयात्री रहे। ब्रिटेनको इतिहासमा महारानीका सबभन्दा लामो समय सहयात्री रहेका छन् उनको प्रमुख कार्य महारानीलाई सहयोग गर्नु थियो।

उनीहरू एक समूहका रूपमा थिए। तस्बिरमा राजकुमार फिलिपको जीवन कुनै समय महारानीले आफ्ना हर भाषण “मेरा श्रीमान् र म…” भनेर शुरू गर्थिन्।आफ्नो विवाहको स्वर्ण जयन्ती अवसरमा महारानीले भनेकी थिइन् “उनी यी सारा वर्ष मेरो शक्तिका रूपमा रहे।”

“म र उनको पूरा परिवार, यो देश र अन्य मुलुकहरू उनले कहिल्यै दाबी नगरेको अथाह ऋणी छौँ।” उनको मृत्यु सन्दर्भमा यति धेरै समाचार छाप्न यी सबै कारण महत्त्वपूर्ण छन्?

डायमन्ड भन्छन्, “वास्तवमा ब्रिटेनको राजपरिवार विश्वव्यापी राजतन्त्र हो र राजकुमार फिलिप महारानीको साथमा होस या एक्लै यात्रा गर्दा होस् विश्वका सबैजसो कुनाहरूमा उनी पुगे र कुनाहरूले उनलाई हेरे।” “वास्तवमा उनी विश्वव्यापी रूपमा प्रसिद्ध व्यक्ति हुन्।” बीबीसी

प्रतिक्रिया दिनुहोस्