Logo

नेपाली मुद्रा साढे ४ महीनायताकै कमजोर



Spread the love

२६ चैत, काठमाडौं। अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ साढे ४ महीनायताकै कमजोर अवस्थामा पुगेको छ । बुधवार प्रतिडलर ११७ रुपैयाँ ८० पैसामा भएको कारोबार बिहीवार भने १ रुपैयाँ ७९ पैसाले अवमूल्यन भएर ११९ रुपैयाँ ५९ पैसामा खुल्दै छ, जुन पछिल्लो साढे ४ महीनायताकै महँगो हो ।

नेपाल राष्ट्र बैंकले बिहीवारका लागि डलरको मूल्य ११९ रुपैयाँ ५९ पैसा तोक्दै छ । यसअघि २०२० नोभेम्बर १७ मा डलरको मूल्य ११९ रुपैयाँ ६७ पैसा पुगेको थियो । त्यसपछि घटेको डलरको मूल्य बुधवारको तुलनामा आज बिहीवार १ रुपैयाँ ७९ पैसाले बढेर ११९ रुपैयाँ ५९ पैसा पुगेको हो ।

डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन पुगेको हो । नेपाली रुपैयाँको विनिमय दर भारतीय रुपयासँग आबद्ध पेग्ड गरिएको छ । त्यसले गर्दा भारतीय रुपया कमजोर हुँदा नेपाली रुपैयाँ स्वतः कमजोर भई डलरको मूल्य बढ्छ ।

यसपटक पनि भारतीय रुपया कमजोर हुँदा नेपाली रुपैयाँ कमजोर भएको राष्ट्र बैंकले बताएको छ । भारतीय रिजर्व बैंकले हालै भारूमा १ ट्रिलियन बोन्ड खरीद गर्ने निर्णय गरेको छ । फलस्वरूप भारतीय बजारमा भारूको आपूर्ति अर्थात् प्रवाह बढी हुनेछ । भारूको प्रवाह बढी हुने अपेक्षाका कारण आज विनिमयदरमा असर पर्‍यो ।

सामान्यतया भारतीय रिजर्भ बैंकले दोस्रो बजारबाट बोन्ड खरीद गर्दा भारूलाई बलियो बनाउन रिपो रेट ९पोलिसी दर० परिवर्तन गर्छ । तर, यसपटक भने भारतीय केन्द्रीय बैंक अप्रिल महीनाका लागि पोलिसीदर ४ प्रतिशतमा नै यथावत् राखेको छ । फलस्वरूप ब्याजदर परिवर्तन हुने सम्भावना पनि घटेको छ । यसरी आपूर्ति बढी भई भारू कमजोर भएको हो । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया दिनुहोस्