Logo

पत्रकारको निर्वाचनमा के-के भयो ? ललितपुरमा त अचम्मै भयो ।



Spread the love

काठमाडौं । नेपाल पत्रकार महासंघको आज मुलुकका ७७ वटै जिल्लामा भइरहेको मतदानमध्ये सबैभन्दा धेरै मतदाता रहेको काठमाडौं शाखामा अपरान्ह ४:४० बजेसम्म सवा ९ सय मत खसेको छ ।

झण्डै १४ सय मतदाता रहेको काठमाडौंमा ५ बजेसम्म थप २ सय मतपत्र खस्ने अनुमान गरिएको छ । संसदीय निर्वाचनमा अरुलाई शिक्षा दिने पत्रकारहरूलाई नै यस पटकको निर्वाचनमा दिइएको मतपत्र झ्याउलो बनेको छ । नाङ्लो जत्रो मतपत्रको कारण बिधागत सचिव र सदस्यहरूमा छ्यासमिस उम्मेदवार विजयी हुने सम्भावना छ ।

पदाधिकारीको हकमा प्रतिबद्ध ढंगले मत खसेको मतदानमा संलग्न प्रतिनिधि तथा पर्यवेक्षकहरूले बताएका छन् । सबै पक्षले प्रतिष्ठाको विषय बनाएको अध्यक्ष,वरिष्ठ उपाध्यक्ष र महासचिवमा भने सत्तालाई धक्का पुग्ने गरी नतिजा आउने सम्भावना देखिएको स्रोतको दावी छ । आज बिहान ललितपुरमा भएको एउटा घटनाक्रमले उक्त सम्भावनालाई बढाएको बताइन्छ ।

झण्डै ५ सय जना मतदाता रहेको ललितपुरमा बिहान केही बेरमा २३ जनाले मतदान गरेपछि उपत्यकाको मतपत्र त्यसमा सामेल नरहेको पाइयो र मतदान गरिएका २३ वटा मतपत्र रद्ध गर्नुपर्ने भयो । होशियारीपूर्वक नष्ट नगरिएका कारण उक्त २३ वटा मतपत्रमध्ये सबै विपुल पोखरेल प्यानलमा रेजा लगाइएको थियो । सबैभन्दा अचम्म त के भने ती २३ जनामा हालै रामबहादुर थापा बादललेझैँ सत्तातिर क्याम्प चेञ्ज गर्नुभएका पूर्व महासचिव उजिर मगरले समेत मतदान गरेको देखिएको थियो ।

स्रोत भन्छ ‘एकाबिहानै कि मगरको नाममा अर्कैले मतदान गरेको हुनुपर्छ,अन्यथा बाहिर जे भनेपनि उजिरले भित्रभित्रै असन्तुष्टि पोखेको हुनसक्छ !’उजिर एमालेले टिकट दिए पनि नदिए पनि अध्यक्षको दावेदार हुनुहुन्थ्यो र सोहिअनुसार देशदौडाहामा पनि हिंड्नुभयो तर अन्त्यमा वरिष्ठ उपाध्यक्षसम्म दिइने भएपछि कुनै पनि पदमा उठ्न मान्नुभएन ।

आज ललितपुरको चुनाव गराउने दायित्व सर्वोच्च बारकी सचिव रजिता थापासहित जिल्ला बारका कमल गिरी र अर्जुन महर्जनको काधमा थियो । पहिले एक हजारको संख्यामा पार्षदहरूले राजधानी आएर नेतृत्व चयन गर्ने प्रणालीलाई परिवर्तन गरेर पहिलोपटक प्रत्यक्ष मतदानको व्यवस्था गरिएको कारण यसचोटि मतपत्रको साइज भीमकाय देखिएको हो । अहिले जिल्लाबाटै प्रदेशदेखि केन्द्रसम्मका सबैलाई त्यहि नाङ्लो जत्रो मतपत्रमा भोट हाल्ने बाध्यता छ । जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस्