Logo

भीम रावलको संयोजकत्वमा एमालेको सुदूरपश्चिम कमिटी गठन



Spread the love

२५ चैत, काठमाडौँ। नेकपा एमाले नेपाल-खनाल पक्षले सुदूरपश्चिम प्रदेशमा पनि समानान्तर कमिटी गठन गरेको छ ।

दार्चुलाबाहेक अन्य जिल्लामा कमिटी बनाइएको छ। कैलाली अध्यक्षमा दीर्घ सोडारी चयन भएका छन्। तत्कालीन नेकपामा हुँदा उनी कारबाहीमा परेका थिए। पुस ७ मा बसेको माधव–प्रचण्ड नेकपाको केन्द्रीय बैठकले सोडारीको कारबाही फुकुवा गरेको थियो।

बैठकले सुदूरपश्चिम प्रदेशको दार्चुलाबाहेक ८ जिल्लाको जिम्मेवारी तोकेको छ । जसअनुसार कैलालीमा दीर्घ सोडारी, कञ्चनपुरमा तारा लामा तामाङ, डोटीमा चक्रबहादुर मल्ल, डडेल्धुरामा तारा जोशी, बैतडीमा महादेव भट्ट, अछाममा शेरबहादुर कुँवर, बझाङमा दिलबहादुर सिंह र बाजुरामा गगन रावललाई जिल्ला अध्यक्षको जिम्मेवारी तोकिएको छ ।

आफ्नो प्रदेशमा संगठन बनाउन नेता रावल केही दिनदेखि सुदूरपश्चिममा छन्। माधव पक्षले रावललाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज बनाएको थियो। मंगलबारको बैठकले कमिटी बनाएको कैलालीका नवनियुक्त अध्यक्ष सोडारीले नेपाल लाइभलाई जानकारी दिए। ‘९ जिल्लामा ६ जिल्लाको नेतृत्व हाम्रै पक्षमा थियो,’उनले भने, ‘तीनवटा जिल्लामा हेरफेर गर्नुपरेको हो। दार्चुलामा पनि छिट्टै कमिटी बन्छ।’ माधव पक्षले समानान्तर कमिटी गठन कार्यलाई तिव्र गतिमा अघि बढाइरहेको छ।

मंगलबार नै वागमती प्रदेशका जिल्लामा आफु पक्षीय नेतृत्व चयन गरेको छ। गत शनिबार गण्डकी प्रदेशका जिल्लामा समनान्तर कमिटी गठन भइसकेको छ। 

प्रतिक्रिया दिनुहोस्