२१ चैत, काठमाडौं । नेकपा एमाले खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।
शनिबार दिउँसो तीन बजे बस्ने बैठकबाट संगठन अभियान घोषणासहित विभिन्न कार्यक्रम तय गरिने एक नेताले जानकारी दिए । यसअघि हिजो पनि बैठक बसेको थियो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने गुटगत गतिविधि गरेको भन्दै वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन् । त्यसपछि नेपाल समूह रणनीतिक छलफलमा जुटेको हो।
बैठकमा राष्ट्रव्यापी कार्यक्रम, संगठन निर्माण, प्रशिक्षण, गोष्ठी, भेलालगायतका कार्यक्रमको ढाँचालाई अन्तिम रूप दिँदै संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान घोषणा गर्ने तयारी रहेको छ ।
उनका अनुसार बैठकले अदालतले पार्टीलाई पुरानै अवस्थामा फर्काए पनि ओलीले त्यसको कार्यान्वयन नगरेको ठहर गरेको छ । फैसला कार्यान्वयन गर्दै पार्टी एकताको रक्षा गर्न देशभरका पार्टी कार्यकर्तालाई आह्वान गर्ने निर्णय भएको उनले बताए ।