१८ चैत, काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले एमाले नेता घनश्याम भुषाल पार्टी फुटमा लागेको आरोप लगाउनु भएको छ ।
भुसालले अध्यक्ष ओलीलाई प्रतिप्रश्नसहित ११ पृष्ठको स्पष्टीकरण पत्र बुझाएको भोलिपल्ट बुधबार (आज) बिहान ओली पक्षीय एमाले केन्द्रीय सदस्य थापाले सामाजिक सञ्जालमार्फत उनलाई पार्टी विभाजन गर्न लागिपरेको आरोप लगाएका हुन्।
यस क्रममा थापाले नेता भुसाललाई जीवनमा जम्मा २ पटक चुनाव जितेको व्यंग्य गर्दै चुनाव जित्नासाथ उनी पार्टी फुटाउन सक्रिय हुने गरेको आरोप लगाएका छन्।
“घनश्याम भुसालजीले जीवनमा दुईवटामात्रै निर्वाचन जित्नुभयो १. २०५१ पछि उपनिर्वाचन जित्नुभयो र ०५५ फागुनमा पार्टी विभाजनमा लागेकाले मनमोहन अधिकारीले निश्कासन गर्नुपर्यो । २. ०७४ मा जित्नुभयो र पुस ५ पछि फेरि विभाजनमै जुट्नुभयो । चुनाव जित्यो कि फुटमा सक्रिय संयोग कि नियति ?,” थापाले लेखेका छन् ।