१८ चैत, काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने एमाले सांसदहरुले नाम फिर्ता लिएका छन् ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाका ४५ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पौडेलविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको थियो। उक्त प्रस्ताव प्रदेश सभामा टेबुलसमेत भएको थियो।
मंगलबार माधव नेपाल समूहका २२ जना सांसदहरु मध्ये एक दुई जनाले नाम फिर्ता लिन बाँकी रहेको प्रदेश सभा सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
तत्कालीन नेकपामा विवाद चुलिएका बेला प्रचण्ड–माधव पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएसँगै त्यसबेला आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूणप्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका थिए।गत पुस १० गते पौडेलविरूद्ध ४५ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव राख्दै तीन जना मन्त्रीले राजीनामा दिएका थिए।
प्रदेशमा नेकपा माओवादी केन्द्रका २३ सांसदहरुले भने अविश्वासको प्रस्ताव फिर्ता लिएका छैनन् ।