Logo

तपाईंको पत्र शत्रु देशका नागरिकलाई पठाइएको जस्तो : भुसाल



Spread the love

१७ चैत, काठमाडौं । नेकपा (एमाले)का नेता घनश्याम भुसालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली व्यक्तिवादको नशाबाट मुक्त हुन नसकेको बताएका छन् ।

उनले सरकारका विधेयकहरु विवादित भएको, मन्त्रीहरु विवादित भएको, अनेक कान्डमा प्रधानमन्त्रीको भूमिका अनुचित रहेको तथा विदेश नीतिमा ओली अवसरवादी भएको आरोप लगाएका छन् ।

ओलीले सोधेको स्पष्टिकरणको तीन दिनसम्म जवाफ नदिएपछि पुन ताकेता गरेपछि मंगलवार मात्रै भुसालले जवाफ फर्काएका हुन्।

कुनै व्यक्तिबाट पाउनु पर्ने कुरा पाएपछि उसैको विरुद्ध प्रधानमन्त्री ओली लागेको भुसालको अर्को आरोप छ। ‘शत प्रतिशतजस्तै यकिनका साथ के भन्न सकिन्छ भने व्यक्तिगत रुपमा तपाईंसँग कसैले कुनै सहमति वा सम्झौता गरेको थियो भने उसबाट पाउनु पर्ने पाएपछि तपाईंले उसकै विरुद्ध षडयन्त्र गर्न थाल्नु भयो। उदाहरणका लागि अरु धेरैको नाम लिनै पर्दैन, कमरेड वामदेव गौतम नै पर्याप्त हुनुहुन्छ। आठौँ महाधिवेशनमा तपाई पराजित भएपछि वरिष्ठ नेता बन्न तपाईंले के के गर्नु भयो त्यसको एउटा साक्षी म आफै छु।’

उनले पार्टीलाई अझै पुनर्जीवित गर्न सकिने तर त्यसका लागि ओली पछि हट्नुपर्ने पनि बताएका छन् । “अझै पनि हाम्रा अग्रजहरुको त्याग, बलिदानले निर्माण गरेका केही विरासत बाँकी छन्, जसमा आउने पिँढीले नेपाली जनताको, खासगरी श्रमजीवी वर्गको भरपर्दो लोकतान्त्रिक र क्रान्तिकारी पार्टीका रुपमा पुनर्जीवित गर्न सक्छन् । मेरो लाख–लाख अनुरोध छ, कमरेड ! यस पार्टीलाई अगाडि बढ्न दिनुस् । अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्युँझनुस् । क्रान्ति त अघि बढ्छ, बढ्छ । आज वा भोलि वा पर्सि तपाईं दण्डित हुनुहुनेछ,” नेता भुसालको पत्रमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्