Logo

यता आरजूलाई अत्याउने,उता देउवाले पत्याउने



Spread the love

काठमाडौं । अस्ति मंगलबार राष्ट्रिय राजनीतिलाई प्रभावित बनाउने गरी ‘बाघ कराउने र बाख्रा हराउने’ शैलीमा मनोबैज्ञानिक प्रचार छेडिएको स्पष्ट भएको छ ।

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई जोडेर एकैदिन विभिन्न अनलाइनमा एकैखाले ‘प्रायोजित’ समाचार प्रकाशित भएपछि उहाँ हतास हुनुभएको बताइन्छ । त्यसैले बिराटनगर विमानस्थलमा उत्रिनेबित्तिक्कै उहाँले भन्नुभयो ‘काँग्रेसले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदैन र ओलीइतरको सरकार पनि बनाउँदैन ।’

झण्डै आधा दर्जन अनलाइनमा एउटै प्रकृतिको समाचार उही समयमा प्रकाशित गरेपछि देउवा सत्तासम्बन्धी नयाँ समीकरणबारे बोल्न बाध्य हुनुभएको बूढानीलकण्ठ निकट स्रोतले बताएको छ । मंगलबार एकैचोटी देउवापत्नी तथा पूर्वसांसद आरजू राणाको नाममा रहेको करिब दुई अर्ब रुपैयाँ बराबरको सम्पत्तिबारे सम्पत्ति शुद्धिकरण अनुसन्धान बिभागले छानबिन थालेको खबर सर्वत्र फैलाइएको देउवानिकट काँग्रेसीहरूले आरोप लगाएका छन् ।

उनीहरूले भनेका छन् ‘उसै त देउवामाथि नेपाल वायुसेवाको निम्ति वाइडबडी जहाज खरिद गर्दाको मुध्द्दा अख्तियारले नटुङ्ग्याउँदा टाउकोमा तरवार झुण्डिएको छ भने त्यसमाथि काँग्रेसभित्र खेल्न र सभापतिलाई आफ्नो पकडमा राख्न अहिले आएर म्याडम र सम्पत्तिलाई प्रयोग गरिएको छ ।’

समाचारमा गैरकानुनी सम्पत्ति आर्जनको आशङ्कामा दुई वर्षदेखि राणाबारेमाथि अनुसन्धान गरिरहेको विभाग अन्तिम चरणमा पुगेको लेखिएको छ । अनुसन्धानको क्रममा उनको नाममा फेला परेको सम्पत्तिको स्रोत नखुलेको भन्दै ‘स्कुल,शेयर बजार,घरजग्गा र हाइड्रोपावरमा गरिएका लगानीमध्ये धेरैको स्रोत नखुलेको,’प्रचार गरिएको छ ।

विभागको उच्च स्रोतले भने आजसम्म आरजूविरुद्ध कुनै निवेदन नपरेको जनाएको छ । विभागलाई उद्धृत गर्दै श्रोत भन्छ-मङ्गलवार बिहानै बाहिर आएका खबर उत्तेजना र हतासा बढाउने हतियार मात्रै हो ।

०७४ सालमा दोश्रो पटक प्रधानमन्त्री बन्नासाथ अर्थ मन्त्रालयबाट सोझै प्रधानमन्त्री कार्यालयअन्तर्गत तानिएको उक्त विभागमा ०६४ सालदेखि परेका झण्डै १ हजार उजुरी छन् । दैनिक दश एघार वटा उजुरीसमेत पर्ने गरेको बताइन्छ । ‘केहीमा छानबिन भइरहेको तर सञ्चारमाध्यममा भनिएका व्यक्तिको बारेमा हामी अनभिज्ञ छौं,’ स्रोतको दाबी छ ।

विभागमा हालिने बेनामी उजुरी सबै छानबिनको लागि योग्य नहुने बताइन्छ । विभागका अनुसार सर्वसाधारणले प्रहरीमा हालेकोझैँ सामान्य उजुरीले सम्पत्ति शुद्धिकरणको छानबिनमा पहिलो प्राथमिकता पाउँदैन । राज्यका विभिन्न निकायको समन्वयमा निकालिने निचोड र राष्ट्र बैंकस्थित वित्तीय जानकारी इकाइले वित्तीय जोखिम विश्लेषण गरेपछि बल्ल सम्पत्ति शुद्धिकरणको प्रक्रिया अघि बढ्ने हो । इकाइले बैंक तथा वित्तीय संस्थाबाट प्राप्त सूचनाको आधारमा जोखिम विश्लेषण गर्छ । वित्तीय दृष्टिकोणले निकै शंकास्पद ठहर्याएपछि मात्र विभागले छानबिन प्रक्रिया अघि बढाउने गरेको पाइन्छ ।

स्रोत भन्छ ‘तर आरजूको हकमा त्यस्तो केही पनि छैन ।’ अहिले विभागमा हालसम्मका १ हजार वटा उजुरीलाई विभिन्न अनुसन्धान अधिकृतको जिम्मामा राखिएको छ । तीमध्ये पूर्व अख्तियार प्रमुख दीप बस्नेतको पनि एउटा हो । त्यसैले सर्वसाधारणको तर्फबाट हालिएको ठाडो उजुरीलाई महत्व नदिइने विभागले पटक पटक दोहोर्याएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग,सतर्कता केन्द्र,राजश्व अनुसन्धान विभाग,भन्सार विभाग,नेपाल प्रहरी र प्रहरीको सीआईबीबाट सिफारिश भई आएका केसलाई दोस्रो प्राथमिकतामा राख्ने गरिएको छ ।

विभागमा मुश्किलले डेढ दर्जन कर्मचारीबाट मुद्रा शुद्धिकरणको काम हुँदै आएको दुःखेसो स्रोतले पोखेको छ । बाहिरबाट हेर्दा ८० जना कर्मचारी देखिन्छन् । तीमध्ये आधाभन्दा बढी प्रहरी छन् भने बाँकी सहयोगी कर्मचारी हुन् ।

एउटै समय,एउटै भाषा र एउटै उद्देश्यले आरजूको सम्पत्ति छानबिनसम्बन्धी समाचार प्रकाशित गर्ने अनलाइनहरूमा क्रमशः हिमालपोष्ट,स्वदेशनेपाल, इकर्मचारी,हिमशिखरटिभी,इताजाखबर,नागरिकखबर, आजकोअर्थ मुख्य रहेको बूढानीलकण्ठले स्क्रीन सट उतारेको श्रोत बताउँछ । जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस्