१० चैत, काठमाडौं। नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई कारबाही गरेर देखाउन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चुनौति दिएका छन् ।
मंगलबार आफ्नो समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले वरिष्ठ नेता नेपालले ओलीमाथि व्यक्तिवादी बनेको र कम्युनिस्ट आन्दोलनलाई बिसर्जनको दिशातिर लगेको आरोप लगाए ।
उनले आफू पार्टीमा विकसित पछिल्लो अवस्थाबाट अलिकति पनि विचलित नभएको भन्दै नेता कार्यकर्तालाई पनि उच्च मनोबलका साथ आफ्नो कार्यक्षेत्रमा खटिन आग्रह गरे ।
अहिले अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा आसेपासे र दासहरुलाई मात्र राखेको र उनीहरुमा गलत कुराको आलोचना गर्ने हिम्मत नभएको नेता नेपालले बताए । पार्टीमा आफ्नो एकाधिकार कायम गर्न खोजेको भन्दै उनले भने, ‘हिटलरको नेपाली अवतार भएका छन् ओली । यो निरंकुशतालाई स्वीकार गर्न सकिन्नँ ।’