२ चैत, काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका छन् ।
बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाइएको छ। यसअघि फागुन २३ र २६ गते प्रतिनिधिसभाको बैठक बस्दा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको थिएन । दुवै बैठकका कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक बसेको थिएन ।
तत्कालीन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक झगडाका कारण आधिकारिकता विवाद हुँदा यसअघिका दुईवटा संसद् बैठकमा सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका थिएनन् । तर, सर्वोच्च अदालतको आदेशबाट नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र)बीचको एकता खारेज भएर दुई पार्टी बनेपछि अहिले आधिकारिकता विवाद टुंगिएको छ ।
सरकारले गत पुस ५ गते संसद विघटन गरेपछि सरकारको उक्त निर्णयलाई बदर गर्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गरेपछि गत फागुन २३ गते पहिलो, फागुन २६ गते दोस्रो बैठक बसेपनि कार्यसूचीका बारेमा भने छलफल हुन सकेको थिएन ।