Logo

बिहे घरमा साङ्घातिक हमला : चार जना घाइते, नगद र गहना लुटेर आक्रमणकारी फरार



Spread the love

१५ फागुन, विराटनगर । गुण्डगर्दीमा संलग्न समूहले मोरङको केराबारी गाउँपालिका–७ नर्कटेस्थित एउटा बिहे घरमा शनिबार बिहान आक्रमण गरेको छ। 

मादक पदार्थ सेवन गरेर आएको समूहको आक्रमणबाट चार जना घाइते भएका छन्। दुई जनाको अवस्था गम्भीर छ। आक्रमणकारी बिहे घरबाट पैसा र सुनचाँदीका गरगहना लुटेर फरार बनेको प्रहरीले जनाएको छ। 

स्थानीय भगीमान लिम्बूको घरमा आक्रमण भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए। उनका अनुसार भगीमानकी छोरी २३ वर्षीया सम्झना लिम्बू र नुवाकोट घर भएका सुदीप राईबीच बिहेको कार्यक्रम समापन भइसकेपछि घटना भएको हो। 

आक्रमणमा परेर बेहुलीका बुवा ५९ वर्षीय भागीमान, दिदी ३० वर्षीया सविना लिम्बू (राई), कान्छा मामा केराबारी–९ का ४५ वर्षीय भगत याक्खा र बिहेमा बेहुलातर्फबाट जन्ती आएका भोजपुरको भोजपुर नगरपालिका–७ का ३३ वर्षीय रमेश राई घाइते भएका छन्।

सबै घाइतेको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये बेहुलीका बुवा भागीमान र मामा भगतको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

उनीहरुको टाउको, खुट्टा, हात, अनुहार लगायत शरीरका विभिन्न भागमा गहिरो चोट रहेको एसपी खड्काले बताए। खुकरी प्रहार गरिएका भागीमानको टाउकोमा १३ टाँका लगाइएको छ।

दायाँतर्फको करङबाट भालाले रोपिएका भगतको फोक्सोमा पनि चोट लागेको उपचारमा संलग्नले चिकित्सकले बताएको प्रहरीको भनाइ छ। आक्रमणबाट बचेका बेहुली, बेहुला लगायत बिहे घरमा रहेका अरु भने सकुशल छन्।

खड्काका अनुसार अत्याधिक मादक पदार्थ सेवन गरेर शुक्रबार राति १० बजेतिर आएको एउटा समूहले बिहेमा साउण्ड सिस्टम बजाएर नाचगान गर्न पाउनुपर्ने माग राख्दै विवाद सुरु गरेको थियो। साउण्ड सिस्टम बन्द गरेर सुत्न लागेको जानकारी दिँदै बिहे घरबाट उनीहरुको माग अस्वीकार भएपछि दुई पक्षबीच विवाद बढ्न थाल्यो। 

त्यहाँ भेला भएकाहरुले विवादलाई मत्थर बनाउँदै १०-१५ जनाको समूहमा रहेका युवाहरुलाई सम्झाइबुझाइ गरेर घरतिर पठाएका थिए। वडा अध्यक्ष नारायणप्रसाद चेम्जोङ लिम्बूका अनुसार राति ११ बजेतिर फेरि फर्किएर आएका ती युवाहरुले बिहे घरमा होहल्ला गर्न थाले।

घटनाका बारेमा थाहा पाएर इलाका प्रहरी कार्यालय केराबारीबाट प्रहरी टोली घटनास्थलमा पुग्नसाथ उनीहरु त्यहाँबाट फरार बनेको लिम्बूले बताए।  निक्कै बेर खोजी गर्दा पनि त्यो समूहलाई फेला पार्न नसकेपछि प्रहरी टोली फर्कियो। स्थानीय र बिहे घरमा भेला भएकाहरुले पनि अब केही हुँदैन होला भन्ने आंकलन गरेर प्रहरीलाई फिर्ता पठाइदिए।

प्रहरी टोली फर्किएको केही बेरमै शनिबार बिहान ३ बजेतिर पुगेको त्यही समूहले एकाएक बिहे घरमा आक्रमण सुरु गरेको वडा अध्यक्ष लिम्बूले बताए। उनका अनुसार घटनाको प्रकृति हेर्दा कुनै पुरानो रिसइबी भएर आक्रमण गरेजस्तो देखिन्छ। 

एसपी खड्काले सुरुमा ढुंगामुडा गर्दै पुगेको समूहले घरेलु हतियार खुकुरी, भाला, रड, दाउरा लगायतले आक्रमण गर्न थालेको हो। उनीहरु पुग्दा बिहेको कार्यक्रम समापन भएर बिहे घरमा बेहुला–बेहुलीसहित सबै जना सुतिसकेका थिए।

घरको पछाडिबाट बरण्डामा चढेका उनीहरुले सुतिसकेकालाई उठाउँदै खुकुरी प्रहार गरेर भालाले शरीरका विभिन्न भागमा रोप्न थालेको पाइएको एसपी खड्काको भनाइ छ।  आक्रमणअघि उनीहरुले खुकुरीले काटेर घरका झ्याल तथा ढोका र फर्निचरका सामानहरुमा पनि क्षति पुर्‍याइदिएका छन्।

आक्रमण गरेर बिहे घरलाई रणमैदानमा परिणत गरिदिएपछि त्यहाँ रहेकाहरुबीच भागदौड मच्चिएको थियो। घरमा बसेकाहरु ज्यान बचाउनलाई चिच्याउँदै र आत्तिदै अँध्यारोमा भागेका थिए। भागीमानका ज्वाई कमल राईले भागेर ज्यान नबचाएको भए घटनामा अझै ठूलो क्षति हुने जानकारी दिए।

‘होहल्ला गर्दै ढुंगामुडा हुन थालेपछि सुरुमा रोक्ने प्रयास गरियो। तर आक्रमणकारीले खुकुरी र भाला लगायतका हतियार प्रहार गर्न थाले’, उनले भने, ‘डरले घरभित्र सुतिरहेका महिला र बालबालिका चिच्याउन र कराउन थाले। ज्यान बचाउँदै अलि पर पुगेर प्रहरीलाई फोन गर्न भ्याएका कारण आक्रमणकारीले अरु थप क्षति गर्न पाएनन्।’ 

राईले ज्यानै लिने हिसाबमा अन्धाधुन्ध र अकल्पनीय हिसाबले साङ्घातिक हमला गरिएको र भागेर ज्यान बचाउन नसकेको भए थप ठूलो क्षति बेहोर्नुपर्ने अवस्था रहेको बताए। 

घटनाका बारेमा थाहा पाएर प्रहरी टोली आएको सुनेपछि आक्रमणकारी बिहे घरबाट फरार भए। बिहेमा बेहुलीको नाममा जम्मा भएको दुई लाख ३५ हजार पाँच सय ४० रुपैयाँ नगद र बेहुलीले लगाएका सुनचाँदीका गरगहना लुटपाट गरेर त्यो समूह भागेको प्रहरीले जनाएको छ।

बिहे सकिएपछि बेहुलीले फुकाएर राखेको ठाउँबाट पाँच तोला जति सुन र चाँदीका विभिन्न गहना तथा एक ठाउँमा जम्मा गरेर राखेको नगद लुटेर आक्रमणकारी फरार बनेको एसपी खड्काले बताए। उनका अनुसार बेहुलीले आफ्ना बुवाको कोठामा जम्मा गरेर राखेको नगद र गहनासहित छ लाखभन्दा बढीको लुटपाट भएको छ। 

आक्रमणमा केराबारी–७ का २८ वर्षीय मुस्कान चेम्जोङ लिम्बू, २५ वर्षीय निशान चेम्जोङ लिम्बू, ३० वर्षीय विश्वास लिम्बू, केराबारी–८ का २२ वर्षीय भाइराजा लिम्बू लगायतको संलग्नता रहेको जानकारी प्रहरीले दिएको छ। मुस्कान र निशान एउटै परिवारका दाजु–भाइ हुन्। 

मदिरा सेवन गरेर आक्रमणमा उत्रिएको समूहले लागुऔषध पनि सेवन गरेको हुनसक्ने प्रहरीको आशंका छ। आक्रमणकारी गाउँघरमा दादागिरी र गुण्डागर्दीमार्फत सर्वसाधारणमा आतंक खडा गर्ने समूह रहेको पाइएको एसपी खड्काले बताए। घटनापछि आक्रमणमा संलग्न फरार रहेका कारण खोजी तीव्र पारिएको जानकारी उनले दिए।

वडा अध्यक्ष लिम्बूले मार्ने हिसाबकै योजना बनाएर आएको समूहले हमला गर्दै एकैक्षणमा बिहे घरलाई रणमैदानमा परिणत गरिदिएको बताए। ‘घरेलु हतियार लिएर आएको समूहले बिहे घरमा आक्रमण गर्दै आतंक मच्चायो’, उनले भने, ‘घटनामा संलग्नलाई तत्काल नियन्त्रणमा लिएर प्रहरीले कारबाहीको दायरामा ल्याउनसक्नु पर्छ।’

केही बेरअघिसम्म खुसीयाली छाएको घरमा एकैक्षणमा काटमार र रुवाबासी चल्न थालेको वडा अध्यक्ष लिम्बूको भनाइ छ। अन्नपूर्णमा किशोर श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्