१३ फागुन, काठमाडौं । नेकपा एकता अभियानमा लागेका नेता वामदेव गौतमले आज (बिहीबार) बिहानै प्रचण्डसँग भेटवार्ता गरेका छन्।
बिहीबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका गौतमले प्रचण्डसँग सहकार्य गर्न प्रस्ताव गरेका हुन् । उनले सर्वोच्चको आदेशपछि नेकपालाई नयाँ ढंगले अगाडि बढाउन आवश्यक भूमिका निर्वाह गर्न आग्रह गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।
गौतमले पार्टीलाई एक बनाइराख्न प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानजनक बर्हिगमन गराएर जानेबारे कुराकानी गरेको बुझिएको छ । नेकपाको बहुमत रहेकाले सरकारको नेतृत्व पनि नेकपाले नै गर्नेबारे गौतमले कुराकानी गरेका थिए ।
पार्टीमा प्रधानमन्त्री ओलीले गडबडी गरेका कारण नै अहिलेको परिस्थिति उत्पन्न भएको र अब पार्टीलाई पहिलो बनाएर लैजानेबारे अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतम बिचको छलफल सकारात्मक रहेको सचिवालयले जनाएको छ ।
उनले त्यहाँ अध्यक्ष प्रचण्डसँग करिब एक घण्टा छलफल गरेको बताइएको छ । पार्टी एकता अभियान सञ्चालन गरिरहेका उनले प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमनपछि पनि नेकपाकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने लगायतका विषयमा कुराकानी गरेका थिए ।