Logo

प्रधानमन्त्री ३ गतेदेखि कोठा सर्दै



Spread the love

काठमाडौं। अब प्रधानमन्त्रीलाई सिंहदरबारको एक ठाउँबाट असी करोडको लागतमा तयार भएको अर्को ठाउँमा सार्ने दिन नजिकै आएको छ ।

०७२ को भूकम्प र ०७५ मा दक्षिणी गेटमा आगलागी भएको सिंहदरबारको मूलभवनको जगैदेखि पुनःनिर्माण (रेट्रो फिटिङ) सम्पन्न भएपछि फागुन ३ गते सोमबारको साइतमा त्यसको उद्घाटन र त्यसै दिनदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुरानै ठाउँमा कायम हुने भएको हो ।

०७२ को भूकम्पले सिंहदरबार मूलभवनमा ८० प्रतिशत क्षति भएको थियो । त्यसबेला सरकारले भवन भत्काएर नयाँ भवन निर्माण गर्ने योजना बनायो । तर, विश्व सम्पदा सूचीमा भएका कारण त्यसको पुरातात्विक महत्व लोप हुने गरी भवन भत्काउन दिइएन । र, अहिले पाँच वर्षपछि रेट्रोफिटिङ सम्पन्न भएको छ ।

३ गते उद्घाटनलगत्तै त्यहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने गरी अन्य तयारी शुरु भइसकेको प्रम कार्यालयस्रोतले जनाएको छ । तर, त्यहाँ ०७२ को भूकम्पअघिका अन्य कार्यालय भने सारिने छैन ।

अहिले प्रधानमन्त्री कार्यालयमा विभिन्न मातहत कार्यालयहरु तानिएको र सचिवको दरबन्दी पनि थपिएको तथा ठूलो हलसहित केही कार्यालयीय संरचनालाई विस्तार गरिएका कारण अन्य निकायलाई त्यहाँ नराखिने स्रोतले जनाएको छ । विसं १९०३ मा राणा प्रधानमन्त्री चन्द्र समशेरले आफ्नो निजी निवासको रुपमा उक्त भवन निर्माण गरेका हुन् ।

त्यसबेला यो भवन बनाउन एक वर्ष लागेको थियो । सिमेण्टको युग शुरु नभएको उक्त समयमा मास र सख्खरको प्रयोगबाट भवन तयार भएको थियो । शुरुमा त्यहाँ १७ सय कोठा थिए । सिंहदरबार एक समय दक्षिण एसियाकै सबभन्दा ठूलो दरबार मानिन्थ्यो ।

भवन निर्माणका क्रममा त्यसबेलाको २५ लाख रुपैयाँ खर्च भएको थियो । ००७ सालमा राणा शासन अन्त्य भएपछि त्यहाँ नेपाल सरकारको कार्यालय राखिएको हो । कीर्तिनिधी विष्ट प्रधानमन्त्री रहेको बेला २०३० सालमा आगलागी भएपछि तत्कालिन प्रधानमन्त्री विष्टले नैतिकताका आधारमा राजीनामा दिनुभएको थियो ।

नेपालको इतिहासमा प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिएको त्यो पहिलो घटना हो । जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस्