काठमाडौं । विविधताले भरिएको एक अद्भुत र चमत्कारिक राष्ट्र हो नेपाल। शताब्दीयौंदेखि विश्वका विविध उद्देश्यका नागरिकलाई नेपालले सधैं आकर्षित गरिरहेको छ।
नेपालका जातजातिहरूले यहाँको सभ्यता र संस्कृतिलाई जोगाएर राख्न अथक् भूमिका निर्वाह गर्दै आएका छन्, जुन विश्वमै परिचित छ। विश्वले नेपाललाई चाडपर्वको देश भनेर चिन्दछ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।
तामाङ भाषामा १२ ‘ल्हो’ प्रतिनिधित्व गर्ने जीवजन्तु यस प्रकार छन् १. जिवा (मुसा), २. लङ (साँढे÷गाई), ३. तक (बाघ), ४. हे÷कुरी (खरायो÷बिरालो), ५. डुक (गरुड÷ड्रागन), ६. डुल (सर्प), ७. ता (घोडा), ८. लुक (भेडा), ९. टे (बाँदर), १० ज्या (चरा), ११. खि (कुकुर) र १२.फक (बँदेल)।
सोनाम ल्होसार आउन करिब एक महिना अगाडिदेखि नै तयारीका कार्यहरू प्रारम्भ गरिन्छ। बाटाघाटा, घर–आँगन, चौतारा, मन्दिर, गुम्बा, चैत्य–विहार आदिको सरसफाइ तथा बत्ती, ध्वजा–पताका, लत्ता–कपडा, खानपान एवं सांस्कृतिक कार्यक्रमका लागि प्रशिक्षण आदिको व्यवस्थापनमा ध्यान दिइन्छ। ल्होसारको अवसरमा भूमिपूजा, कूलपूजा, गोठपूजा एवं अन्य पूजापाठ तथा दानदक्षिणा, ढोगभेट, टीकाटालो र परस्पर सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै तहअनुसार आशीर्वचन लिने–दिने अनि शुभकामना आदानप्रदान हुन्छ। अलुम, कुथुग्पा, दुची, छेमार आदि खानाका परिकार बनाउने, चढाउने तथा प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ। देशको राजधानी काठमाडौंको टुँडिखेललगायतका विविध स्थलमा कार्यक्रममा जातीय पहिरनमा सजिएर ताँतीका ताँती भाग लिएको मनमोहक दृश्यले जोसुकैलाई पनि तानिरहेको आभास हुन्छ।
प्रकृति र जीवजन्तुसँग सामीप्य राख्ने जीवन्त पर्व पनि हो सोनाम ल्होसार। डम्फु, म्हेन्दोमाया, स्याब्रु, ताम्बा–कइतेन, रिमठिम आदिलाई अक्षुण्ण राख्न साक्षात्कार हुने वा संस्मरण गर्ने उपयुक्त अवसर पनि यही पर्व हो। यहाँनिर हामीले बिर्सन हुन्न, तामाङ समाजका संवाहक त्रिमूर्ति क्रमशः ताम्बा (इतिहास–संस्कृति विज्ञ), बोम्बो (चिकित्सक) र लामा (पुरोहित) आदिको परम्परागत सामाजिक सांस्कृतिक उत्सव एवं धार्मिक क्रियाकलापलाई विलुप्त हुन नदिन सर्वोत्तम भूमिका रहनेमा सन्देह रहन्न। नेपाली लोकसंस्कृतिको गरिमा र मौलिकतालाई बचाऔं। सामञ्जस्य र परस्पर सद्भावलाई आत्मसात गरौं।