२३ माघ, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले आज काठमाडौँ ‘बृहत् सभा’ सहित शक्ति प्रदर्शन गर्दैछ ।
‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नारासहित नारायणहिटी दरबार अगाडि आमसभा हुनेछ ।
नेकपा ओली समूहको बागमती प्रदेश सङ्गठन अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा २ लाखभन्दा बढी मानिस सहभागी हुने बताए ।
सांस्कृतिक राष्ट्रवादका कुरा सुन्न मनपराउने, राष्ट्रियताको जगेर्ना गर्नुपर्छ भन्नेहरू र विकासप्रेमी मानिसहरू प्रधानमन्त्री ओलीलाई सुन्न आमसभामा सहभागी हुँदैछन्, त्यस्ता मानिसहरूको संख्या कम्तीमा दुई लाख हुनेछ,’ पोखरेलले भने ।
नेकपा ओली समूहले आजको प्रदर्शनका लागि १६ स्थानबाट जुलुस निकाल्ने योजना बनाएको छ । मध्याह्न १२ बजेदेखि हुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्नेकार्यक्रम तय भएको छ ।
सभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलुस निकालिने जनाइएको छ। जुलुस तथा सभा व्यवस्थापनका लागि २ हजार स्वयम सेवक खटाइएको पोखरेलले बताउनुभयो । पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि सत्तारूढ दल आगामी वैशाख १७ र २७ मा घोषित मध्यावधि चुनावलाई केन्द्रित गर्दै शक्ति प्रदर्शनमा उत्रिएको छ ।