Logo

प्रदेश १ मा कृषक परिचयात्मक कार्यक्रम जारी



Spread the love

काठमाडाैँ । राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान नेपालको किसानहरूसँगको परिचयात्मक कार्यक्रम प्रदेश नं १ का विभिन्न जिल्लाहरूमा सम्पन्न भएको छ ।

“आजको आवश्यकता आत्मनिर्भर सहितको संवृद्धि” मूल नारासहित सुरू भएको राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान, नेपालले वाग्मती प्रदेशका जिल्लाहरूमा आफ्नो संगठन बिस्तार गरिसकेको छ । सोही अभियानको क्रममा माघ ५ गतेदेखि नेपालको पूर्वी तथा कृषिजन्य अनाज उत्पादनका हिसाबले आकर्षक र उर्बर मानिने प्रदेश नं १ का विभिन्न जिल्लाहरूमा कृषकहरूको समुहसँग परिचयात्मक कार्यक्रम गरेको छ।

किसानहरूसँगको भेटमा अभियानका केन्द्रीय संयोजक सुदर्शन विक्रम कार्कीले अब आत्मनिर्भर सहितको समृद्धिको लागि यो वा त्यो क्षेत्रमात्र नभएर सिङ्गो मुलुक लाग्नुपर्ने बताउँदै अभियानले बौद्धिक रूपमा जागरण गर्दै उत्पादनमा केन्द्रित रहेर देशैभर काम गर्दै आएको बताए । तल्लो तहको वर्ग बलियो भयो भने मात्र सत्ता बलियो हुने र सत्ता बलियो हुनु भनेकै राज्य र देश बलियो हुनु हो भन्ने धारणा कार्कीले राखे । अब हामी आफै किसान, आफै बिक्रेता र आफै मालिक हुने सोचका साथ यो अभियानमा लाग्नुपर्ने भएको र त्यसको नेतृत्व राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियानले गर्ने जानकारी समेत दिए ।

अभियानमा आबद्ध जुनसुकै नेपाली जनताले पनि त्यागको भावनाबाट अभियानलाई अगाडि बढाउनुपर्ने र अभियानमा गोलबद्ध भएर राजनीति भन्दा सामाजिक भावले अगाडि बढ्दा मात्र देशलाई आत्मनिर्भर सहितको समृद्धितर्फ अगाडि बढाउन सकिने बताए ।

यो अभियान माघ ५ गते सुनसरीको इनरुवा, माघ ६ गते मोरङको कर्सिया, माघ ७ गते झापाको गौरादह कृषि क्याम्पस, माघ ८ गते इलामको इलाम बजार, माघ १० गते ताप्लेजुङ, माघ १२ गते धनकुटा सम्पन्न भइसकेको छ । पहिलो चरणको यो भेटघाट कार्यक्रममा कृषकहरूको उल्लेख्य सहभागिता रहेकोले यसबाट आफूलाई अझै बढी उत्साह मिलेको अनुभव पनि उनले सुनाए । सो भेटघाट तथा परिचयात्मक कार्यक्रममा जिल्ला जिल्लामा जिल्ला संयोजक बनाएको र उनिहरूमार्फत जिल्लाका विविध गतिविधिहरू चलायमान हुने पनि उनको भनाइ थियो ।

कृषक जागरुक अभियान तथा परिचयात्मक कार्यक्रमहरू पौष महिनामा वाग्मती प्रदेशका जिल्लाहरू काठमाडौंको कीर्तिपुरमा, सिन्धुलीको भिमानमा, दोलखाको चरिकोटमा, रामेछापको मन्थलीमा, सिन्धुपाल्चोकको मेलम्चीमा, धादिङ र चितवनको भरतपुरमा सम्पन्न भइसकेको जानकारी समेत अभियानका संयोजक सुदर्शन बिक्रम कार्कीले दिए ।

हामीले आफ्नै खाले विचार निर्माण गर्दै विचारलाई उत्पादनमा जोड्नु अहिलेको आवश्यकता हो । उत्पादनमा रहेको बिचौलियाको बिगबिगीलाई अन्त्य गर्न एक दुई प्रयत्नबाट, अलग अलग प्रयत्नबाट तथा प्रतिष्पर्धी प्रक्रियाबाट आत्मनिर्भर अर्थतन्त्र निर्माण हुन नसक्ने भएकाले योजनाबद्ध, अन्तरसम्बन्धित, सामुहिक तथा सहयोगात्मक प्रयत्न आवश्यक रहेको अभियानको लक्ष्य छ।

अभियानका सदस्यहरू सम्मिलित पब्लिक कम्पनी निर्माण भइसकेको र सबै सदस्यहरुले आफ्नो उत्पादनलाई जोड दिदैँ उपभोक्ताको हितमा रहेर काम काम गर्दै आएका छन् । अभियन्ता र किसानको स्वामित्व ४०/४० प्रतिशत भएकाले उत्पादक (किसान)ले अब आफ्नो उत्पादनको मूल्य आफै निर्धारण गर्ने, हाम्रो उत्पादन, हाम्रो बजार, समृद्ध बन्ने हामी सबैको रहर भएकाले आत्मनिर्भर सहितको समृद्धितर्फ आम नेपाली लाग्नुपर्ने र नेपाल देशको गरिमा, नेपाली जनताको सर्वोत्तम हित र हरेक नेपाली समृद्ध नहुँदासम्म यो अभियान जारी रहने गरी देशैभर कार्यक्रम भई रहेको राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियानका संयोजक सुदर्शन विक्रम कार्कीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्