२१ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले विहीबार देशव्यापी आमहड्ताल गर्ने भएको छ ।
नेकपा प्रचण्ड–माधव नेपाल पक्षले सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा बिहीबारका लागि आह्वान गरेको आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने स्पष्ट पारेको छ । यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध हुनेछैन ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सो समूहले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । ‘हामी सरकारको कदमविरुद्ध आमहड्तालजस्तो कार्यक्रम गर्न बाध्य भयौँ, त्यसका लागि हामी क्षमा चाहन्छौँ’, पत्रकार सम्मेलनमा नेत्री पम्फा भुसालले बताएकी छिन्।
पत्रकारसम्मेलनपछि वितरण गरिएको प्रेस वक्तव्यमा यसअघि नै घोषित माघ २८ गते काठमाडौँमा हुने विरोध प्रदर्शन र सभा यथावत राख्ने उल्लेख गरिएको छ । यस्तै माघ २२ गते काठमाडौंमा हुने भनिएको युवा र्याली माघ २८ पछि हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।