२१ माघ, काठमाडौं । संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारीहरूले शपथ लिएका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा विभिन्न संवैधानिक निकायमा नियुक्त भएका पदाधिकारीले संसदीय सुनुवाइ बिना नै शपथ लिएका हुन् ।
संवैधानिक निकायमा नियुक्त भएका प्रमुखले प्रधानन्याायधीश चोलेन्द्र शम्सेर राणाबाट शपथ लिएका थिए । अन्य सदस्यलाई भने प्रमुखले शपथ खुवाएका थिए । शपथ कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत उच्च पदस्थ व्यक्तिहरुको सहभागिता थियो ।
परिषद्ले गत मंसिर ३० गते गरेको सिफारिशबमोजिम राष्ट्रपतिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका संवैधानिक आयोगहरूमा प्रमुख तथा पदाधिकारी नियुक्त गरेकी हुन् ।
संवैधानिक व्यवस्था अनुसार संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्दा संसदीय सुनुवाई समितिबाट अनुमोदन हुनु पर्छ । यद्यपि, समितिले ४५ दिनसम्म निर्णय दिन नसकेमा भने नियुक्तिमा बाधा नहुने व्यवस्था संसदको संयुक्त बैठक र संयुक्त समिति नियमावलीमा उल्लेख छ ।
तर नियुक्ती रोक्न सर्वोच्चमा रिट पुगेका कारण अदालती प्रक्रियामा प्रवेश नगर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँगको परामर्शमा रातारात शपथ खुवाउने योजना बनाएका हुन् । त्यसअघि प्रधानमन्त्री ओलीले सुनुवाइका लागि सभामुख अग्नि सापकोटालाई पत्राचार समेत गरेका थिए ।
तर सभामुख सापकोटाले प्रतिनिधि सभा विघटन भएकाले सुनुवाइ गर्न नमिल्ने जवाफ फर्काएपछि बुधबार बिहानै संवैधानिक निकायमा नियुक्त भएकालाई शपथ खुवाइएको हो ।