Logo

गीतको जवाफ दिएका महान्यायाधिवक्ता खरेललाई न्यायाधीशको प्रश्‍न- सायरीको जवाफचाहिँ दिनुहुन्न ?



Spread the love

काठमाडौँ । प्रतिनिधिसभा विघटनका मुद्दामाथि सर्वोच्च अदालतको  संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते सिफारिस गरेका थिए भने सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सिफारिस स्वीकार गर्दै प्रतिनिधिसभा विघटनको घोषणा गरेकी थिइन् ।

त्यो कदमविरुद्ध सर्वोच्च अदालतमा सत्तारुढ नेकपाका सांसदसहितका १३ रिट निवेदन परेका थिए । ती रिट निवेदनमाथि माघ ४ गतेदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ ।

सुनुवाइका क्रममा रिट निवेदकका कानुन व्यवसायीहरूमध्ये कोहीले गीत त कोहीले सायरी भनेर इजलासलाई प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै बदर गर्न माग गरेका थिए ।

१३ दिन लगाएर रिट निवेदकले बहस गरेको जवाफ दिन सरकारको तर्फबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेल सोमबारदेखि इजलाससमक्ष सुनुवाइमा सहभागी भइरहेका छन् ।

रिट निवेदकका कानुन व्यवसायीले प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्दैनन् भनेका खरेलले कसरी प्रधानमन्त्री ओलीको कदमको रक्षा गर्लान् भनेर व्यंग्य गरेका थिए । खरेलले आफू संवैधानिक जिम्मेवारी पूरा गर्न आएको बताइरहेका छन् र व्यंग्यको जवाफ पनि व्यंग्यले नै दिइरहेका छन् ।

यसै क्रममा खरेलले गीतको जवाफमा गीत पनि भनेका छन् । रिट निवेदकका कानुन व्यवसायी गोपालकृष्ण घिमिरेले दुई-दुई संविधानसभाले संविधान निर्माण गरेको तर ‘न बिर्से तिमिलाई न पाए तिमिलाई’ भनेर गीत भनेका थिए ।

जसको जवाफमा खरेलले त्यो गीत नभएर रिट निवेदकहरूलाई ‘नाइँ मलाई त्यै केटी चाहिन्छ’ भन्ने गीत सुहाउने बताए । रिट निवेदकहरूले हठ गरिरहेको भएकाले निवेदकका कानुन व्यवसायीले भनेको भन्दा पनि आफूले भनेको गीत सुहाउने खरेलको भनाइ थियो । जनतामा जान हिम्मत नभएर रिट निवेदकहरू ‘नाइँ मलाई त्यै केटी चाहिन्छ…’ भनेझै ‘नाइँ मलाई त्यै संसद् चाहिन्छ भनिरहनुभएको छ,’ खरेलले भने ।

गुरुङहरूको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता शम्भु थापाले सायरी भनेका थिए । उनले मिर्जा गालिबको ऊर्दू सायरी इजलासमा सुनाएका थिए ।

‘जला है जिस्म जहाँ दिल भी जल गया होगा,
रेदते हो जो अब राख जुस्तुजू क्या है
थापाले संसद नै मर्‍यो भने बाँकी केही रहँदैन भन्दै उक्त सायरी गाएका थिए

महान्यायाधिवक्ता खरेलले गीतको जवाफमा गीत भनेपछि न्यायाधीश तेजबहादुर केसीले ‘गीतको जवाफ आयो, सायरीको चाहीँ दिनुहुन्न ?’ भनेर सोधेका थिए ।

खरेलले न्यायाधीशको प्रश्नको जवाफ भने दिएनन् । उनले अहिलेको गणतान्त्रिक व्यवस्था र वेस्टमिनिस्टर व्यवस्थाबीच के फरक छ भन्नेबारे आकुरा रख्न थालेका थिए । नेपालमा वेसटमिनिस्टर व्यवस्था रहेको र त्यसमा प्रधानमन्त्रीसँग केही अधिकार रहेको दाबी गरेका थिए । उनले प्रधानमन्त्रीमा अन्तरनिहित अधिकार रहेको बताइरहेका छन् । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्