२० माघ, काठमाडौं । खानेपानी मन्त्री मणि थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भेटेका छन्।
एनसेल मुख्यालयमा बम बिष्फोट गराएको अभियोगमा पक्राउ परेका सुदर्शन भनिने ओलीसँग उनले स्वास्थ्य अवस्था र वार्ताको विषयमा कुराकानी गरेको बुझिएको छ ।
मंगलबार बिहान साढे १० बजेतिर ललितपुरको नख्खु जेलमा पुगेर उनले ओलीलाई भेटेको मन्त्री थापाका सहयोगी राजेन्द्र गौतमले बताए।
सरकार र विप्लव नेतृत्वको नेकपावीच वार्ताको कुरा भइरहेका बेला मन्त्री थापाले ओलीलाई जेलमै गएर भेटेका हुन्। विप्लव नेतृत्वको नेकपाले वार्ता गर्न सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धमेन्द्र बाँस्तोलालगायत नेताहरूको टोली बनाएको थियो।
मन्त्री थापाले हेमन्त प्रकाश ओलीसँग भेट गर्नुलाई विप्लव समूहसँग सरकारले वार्ताको अनौपचारिक पहल गरेको सन्देश समेत गएको छ । पूर्व माओवादी खेमाका थापालाई विप्लव समूहसँग समन्वय गरी वार्ताको वातावरण बढाउने भित्री जिम्मेवारी समेत दिइएको बुझिएको छ । उनी जिम्मेवारी पाएसँगै सक्रिय भएका हुन् ।