२० माघ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ।
संवैधानिक परिषद्को भोलि बेलुका ५ बजेलाई बोलाइएको बैठक स्थगित भएको छ । प्रतिनिधिसभा विघटन भएसँगै संवैधानिक निकायहरूमा नियुक्तिका लागि सिफारिस गरिएका पदाधिकारीले सुनुवाइ बिनै कार्यभार सम्हाल्न लागेका बेला परिषदको बैठक डाकिएको थियो ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार डाकेको बैठकमा नियुक्ति सिफारिस गरिएका व्यक्तिलाई राष्ट्रपतिबाट सिधै नियुक्ति गर्नअघि कानुनी प्रकिया लगायतका विषयमा छलफल गर्न लागेका थिए । तर बुधबारको बैठक स्थगित भएको सूचना सदस्यहरूलाई पठाइएको छ । बैठक किन स्थगित गरियो भन्नेबारे केही खुलाइएको छैन ।
गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुपूर्व नै प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर रिक्त संवैधानिक पदहरू पूर्ति गरेका थिए । बुधबार नियुक्तिको ४५ दिन पूरा हुनेछ ।