२० माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग पुगेको छ ।
मंगलबार अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितका नेता स्वयं उपस्थित भएर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार दाबी पेस गरेका हुन् ।
कार्यालय खुलेलगत्तै १० आयोगमा पुगेका दाहाल- नेपालसहितका नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, भीम रावल, वर्षमान पुन, घनश्याम भुसाल, लीलामणि पोखरेल, राजेन्द्र पाण्डेलगायतका नेताहरूले पार्टीको चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गरेका हुन् ।
दाबी पेस गरिसकेपछि पत्रकारहरुसँग कुरा गर्दै दलका वरिष्ठ नेता खनालले २ वटा केन्द्रीय कमिटीको बैठकबाट आफूहरूसँग बहुमत रहेको भन्ने प्रमाणित भइसकेकोले आवश्यक कागजातसहित दाबी पेस गरेको जानकारी दिए ।
समूहको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कार्बाही गर्ने स्थायी कमिटीको निर्णयलाई अनुमोदन गर्दै पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भए पनि त्यसले अहिलेसम्म बैधता पाउन सकेको छैन ।