Logo

तपाईंको बुवा किसान भएर हलो जोत्नुहुन्थ्यो, तपाईँ किन पत्रकार बन्नुभयो ?



Spread the love

१९ माघ, जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा निर्वाचन आयोग अगाडि बढिसकेकाले निर्वाचन एक दिन पनि तलमाथि नसर्ने बताएका छन्।

धनुषा, मिथिला नगरपालिका वडा नं ७ ढल्केवरमा संघीय सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्मित नेपालको पहिलो ४०० केभी सबस्टेसन तथा विश्व बैंकको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको २२०/१३२ केभी सबस्टेसन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘प्रदेश नं २ मा वैशाख १७ गते नै चुनाव हुने भएकाले चुनावको तयारीमा लाग्नुस्।’

प्रधानमन्त्री ओलीले सही, राम्रा र नयाँ कामको सुरूआत गर्नका लागि पुरानो परम्परा तोड्नुपर्ने बताउँदै पशुपतिनाथमा १४१ किलोको सुनको जलहरी हालिदिने भनेपछि परम्परा बिग्रने भयो भनेर केही मिडियाले समाचार लेखेकामा गुनासो गरे।

प्रधानमन्त्रीले भने, ‘पशुपतिमा पहिलेजस्तै चाँदीकै जलहरी हाल्नुपर्ने भनेर आएको गुनासो गर्नेसँग म प्रश्न गर्न चाहन्छु, तपाईंको बुवा किसान भएर हलो जोत्नुहुन्थ्यो, तपाईँ किन पत्रकार बन्नुभयो ? किसान नै भएर खेतीपाती गरेको भए पो परम्परा बाँच्थ्यो। मेरो बुवा पनि किसान हुनुहुन्थ्यो तर म प्रधानमन्त्री भएँ। त्यसैले नयाँ र राम्रा कामका लागि परम्परा भत्काउनुपर्छ।’

प्रधानमन्त्री ओलीले अब केही दिनपछि जनकपुर–जयनगर रेल सञ्चालन गर्नका लागि आफैं आउने बताउँदै भने, ‘तत्कालीन भौतिक पूर्वाधार  तथा यातायातमन्त्री रघुवीर महासेठकै पालामा खरिद गरिएका दुइटा रेल भित्रिसकेकाले अब छिट्टै सञ्चालन हुने तयारी हुँदैछ।’

प्रतिक्रिया दिनुहोस्