१९ माघ, काठमाडौं । मकवानपुर प्रहरी फरार प्रतिवादीविरुद्ध आक्रामक देखिएको छ ।
जिल्ला प्रहरीका नयाँ प्रमुख उपरीक्षकमा सोमेन्द्रसिं राठौर आएपछि यो क्रम अझै बढेको हो । फरार ६ जनालाई प्रहरीले एकैदिन पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका-८ का ७३ वर्षीय देवलाल रुम्वा, मनहरी गाउँपालिका- ९ का ४८ वर्षीय चेपाङ माइला भन्ने भोज बहादुर प्रजा, मनहरी गाउँपालिका- ६ का ४३ वर्षीय राम सिंह लोप्चन, सोही ठाउँ बस्ने ३२ वर्षीय कान्छा भन्ने राजकुमार तामाङ, २९ वर्षीय छिरिङ मोक्तान र ३८ वर्षीय प्रताप सिंह जिम्बा रहेका छन् ।
जिल्ला अदालत मकवानपुरको २०५६ असार १६ गतेको फैसलाले कर्तव्यज्यान मुद्धामा २१ वर्ष ६ महिना कैद सजाय तोकिएका साबिक मकवानपुर बुढीचौर गाविस वडा–५ घर भएर हाल मकवानपुरगढी गापा वडा–८ बस्ने वर्ष ७३ का फरार प्रतिवादी देवलाल रुम्बालाई सोमबार मकवानपुरगढी–८ बाट पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको छ ।
देवलाललाई २०५६ असार १६ गते जिल्ला अदालत मकवानपुरले कर्तव्य ज्यान मुद्दामा २१ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो भने भोजबहादुरलाई २०७५ जेठ २२ गते मकवानपुर जिल्ला अदालतले लागूऔषध मुद्दामा १० महिना कैद सुनाएको थियो ।
राम सिंह लोप्चन, राजकुमार, छिरिङ र प्रतापलाई भने जिल्ला अदालत चितवनले २०७४ साल असार २० गते लेवन मुद्दामा १०/१० हजार जरीवाना सुनाएको थियो ।