१८ माघ, काठमाडौँ ।नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले भोलि सोमबार ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
बैठकमा माघ २८ गते काठमाडौंमा हुन लागेको विरोध प्रदर्शन र अन्य समसामयिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।
यसअघि यो समूहको बैठक पुस ७ देखि ९ गतेसम्म बसेको थियो । उक्त बैठकले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाएर नेपाललाई अध्यक्ष चयन गरेको थियो । दाहाल–नेपाल समूह प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलनमा छ ।
धर्नामा अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत विघटित प्रतिनिधिसभाका सदस्य एवं नेता तथा कार्यकर्ताको सहभागिता थियो ।
सो समूहका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटनपछि पार्टीका तर्फबाट देशव्यापी रुपमा गरिएको जनसभा तथा प्रदर्शन, भावी कार्यक्रम र कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाइएको हो ।