१८ माघ, काठमाडौं। उत्तरी छिमेकी चीनले नेपाललाई कोरोनाविरुद्धको खोप अनुदानमा दिने भएको छ।
काठमाडौंस्थित चिनियाँ दूतावासले नेपाललाई चीनले करिब ३ लाख डोज कोरोनाविरुद्धको खोप दिने जनाएको हो।
चिनियाँ सरकारी कम्पनी सिनो फर्माले विकास गरेको खोप चीनले नेपाललाई सहयोगमा दिन लागेको हो। नेपाल सरकारले यसअघि नै खोप उत्पादन गर्ने मुलुकहरुलाई कूटनीतिक नोट पठाएर खोप सहयोग गर्न अनुरोध गरेको थियो।
चीनले दिन लागेको भ्याक्सिन चिनियाँ कम्पनी सिनोफार्मले विकास र उत्पादन गरेको हो। यो भ्याक्सिनले चीनमा यसअघि नै सशर्त अनुमति पाइसकेको र जनवरी ३१ सम्म २ करोड ४० लाख मानिसलाई दिइसकेको दूतावासले जनाएको छ। खोपको प्रभावकारिता ७९.३४ प्रतिशत रहेको दाबी गरिएको छ।
चिनियाँ खोप चीनलगायत विभिन्न १३ देशमा शसर्त अनुमति प्राप्त रहेको र विश्वस्वास्थ्य संगठनको मापदण्डभन्दा पनि गुणस्तरीय रहेको जनाएको छ। तर, नेपालमा भने हालसम्म चिनियाँ खोपले अनुमति पाइसकेको छैन। तर चीनले सहयोग दिने भएपछि नेपालले चिनियाँ खोपलाई आपतकालीन उपयोगका लागि अनुमति दिने दावी गरिएको छ।