१८ माघ , काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा चरणबद्ध आन्दोलन गरिरहेका नेकपा प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरु आइतवार माइतीघर मण्डलाको धर्नामा सहभागी हुँदैछन् ।
कार्यकर्ताको ध्यान केन्द्रित गर्न देश दौडाहामा रहेका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालसहितका शीर्ष नेता आज माइतीघरमा हुने धर्नामा सहभागी हुँदैछन् ।
तेस्रो चरणको आन्दोलन अन्तर्गत नेकपाका सांसदहरुले प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै माघ १४ गतेदेखि मण्डलामा धर्नामा बसेका छन् । धर्ना कार्यक्रम माघ २१ गतेसम्म चल्ने नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् ।
धर्नामा विघटित प्रतिनिधिसभाका सदस्यहरु, राष्ट्रियसभा, प्रदेशसभा र दुवै संविधानसभाका सदस्यहरु सहभागी हुनेछन् ।
प्रतिनिधिसभा विघटनपछि बैधानिकरूपमा मात्र एक देखिएका नेकपाका दुबै समूहले एक अर्कालाई कारबाही गर्दै अघि बढेका छन् ।
आफू बैधानिक भएको दाबी गर्दै दुबै समूहले शक्ति प्रदर्शन गर्दै आएका छन् । दाहाल-नेपाल समूहले पुस १४ र माघ ९ मा काठमाडौँमा, माघ १६ मा विराटनगरमा तथा माघ १७मा धनगढीमा जनप्रदर्शन गरेको छ ।
प्रतिनिधिसभा भंग गराइएपछि प्रधानमन्त्री ओलीविरूद्ध पुस ५ यता आन्दोलित दाहाल-नेपाल समूहले काठमाडौँमा माघ २८ मा ‘बृहत शक्ति प्रदर्शन’ को तयारी गरेको छ ।