Logo

हाकिमका भान्छामा डाँफेको तात्तातो सुप



Spread the love

राष्ट्रिय पक्षी डाँफे संरक्षण गर्ने जिम्मा कसको ? सरकारी कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि वा सर्वसाधारणको ? जो कसैको पनि सहजै उत्तर आउला– सबैको । तर, बझाङ जिल्लामा भने यी सबै मिलेर डाँफेलगायत वन्यजन्तुको चोरी–सिकार भइरहेको छ ।

जाडोयाममा आफ्नै भान्छामा डाँफेको तात्तातो सुप खान सर्वसाधारणभन्दा पनि राजनीतिक दल र सरकारी कार्यालयको उच्च ओहोदामा बस्नेहरूबीच प्रतिस्पर्धा छ । ‘हाकिमको अर्डर छ । जसरी पनि डाँफे ल्याउनुपर्छ भनेर गाउँमा रहेका सरकारी कर्मचारी र पुलिसले नै अनुरोध गर्छन्’, सुर्माका एक सिकारीले भने, ‘हाकिमकै अर्डर आएपछि हामीलाई डर हुँदैन’ उनले सरकारी कर्मचारी र सुरक्षाकर्मीले नै गाउँमा मारिएका वन्यजन्तुको मासु सदरमुकामसम्म पु¥याइदिने गरेको बताए ।

सरकारी कर्मचारी र सुरक्षाकर्मीकै आडमा हुने भएकाले गाउँमा कुनै जोखिम नभएको सिकारी बताउँछन् । ‘कसको घरमा बन्दुक छ ? कसले सिकार खेल्छ भन्ने कुरा पुलिसलाई थाहा छ । उनीहरूलाई पनि हाकिम खुशी पार्न जंगली नै चाहिने भएकाले कसैलाई केही गर्दैनन्’, साइपाल गाउँपालिकाका अर्का सिकारीले भने । उनले जिल्लाका हाकिमलाई जंगलीको मासु चाहिने र सिकारीले गाउँमा भन्दा मोल पनि बढी पाउने गरेको बताए ।

उनले जिल्ला प्रशासन कार्यालयभित्र बस्ने केही कर्मचारीको भान्छामा पनि यो हिउँदमा तीन पटक डाँफे पाकिसकेको बताए ।


उसो त बझाङको सदरमुकाम चैनपुरका साना–ठूला होटलमा पनि सजिलै डाँफेलगायत वन्यजन्तुको मासु किनबेच गर्न पाइन्छ । हिउँद लागेसँगै चैनपुरमा वन्यजन्तुको मासुको उपलब्धता बढ्छ । यसमा राष्ट्रिय पक्षी डाँफेलगायत प्रतिबन्धित तथा लोपोन्मुख वन्यजन्तु कालिजलगायत चराको मासु हुन्छ ।

सदरमुकामका व्यापारीले गाउँका सिकारीसँग सम्पर्क गर्ने र मोटरसाइकल तथा गाडीमा वन्यजन्तु र चरा ओसारेर खुलेयाम बेच्ने गरेका छन् । ‘जंगलीको मासु खोज्नेले हामीलाई सम्पर्क गर्छन्’, एक होटल व्यवसायीले भने ‘गाउँबाट सिकार आएपछि हामीले फोन गरेर उनीहरूलाई दिने गरेका छौँ । दिनदिनै नभए पनि हप्ताको दुई÷तीन दिन हाम्रोमा जंगली आइरहन्छ’, उनले जंगलीको मासु किन्ने ग्राहक जिल्लाका जनप्रतिनिधि, नेता, व्यापारी, कार्यालयका प्रमुखसम्म पुग्ने गरेको बताए ।

सिकारीले चैनपुरका होटल र पसलमा जंगली जनावरको मासु र पक्षी ल्याउने र व्यापारीले केही फाइदा खाएर सर्वसाधारणलाई समेत बेच्ने गरेको व्यापारी नै बताउँछन् । ‘कुनै–कुनै दिन त बजारभरि जंगली नै जंगली हुन्छ’, चैनपुरकै अर्का होटल व्यवसायीले भने, ‘धेरै आएको दिन जंगलीको मासु केही सस्तो हुन्छ । कम आएका बेला सिकारीले भनेको मूल्य तिर्नुपर्छ ।’

केही दिनअघि लेकाली भेगमा भएको हिमपातसँगै जंगली जनावर र पक्षीको चोरी–सिकारी पनि बढी हुन थालेको यसमा संलग्नहरू बताउँछन् । जाडोका कारण औल झरेका जंगली जनावर तथा पक्षीको सिकार गर्न सजिलो हुने भएकाले हिमपातपछि हिमाली भेगका बासिन्दा सिकार खेल्न जाने गर्छन् । हिउँदको बेला घरमा काम नहुने र सिकार गर्न सजिलो हुने भएकाले हिमाली तथा उच्च पहाडी भेगका अधिकांश पुरुष बन्दुक, भाला, हंसिया, लाठीलगायत घरेलु हतियार र सिकारी कुकुरसहित सिकार खेल्न लेक जाने गर्छन् ।

उनीहरूले रतुवा, घोरल, झारल, थारल, बँदेललगायत जनावर र डाँफे, कालिजलगायत पक्षीको समूहमा सिकार गर्ने गरेको स्थानीय बताउँछन् । जिल्लाको हिमाली र उच्च पहाडी भेगमा रहेका साविकका काँडा, सुर्मा, दौलिचौर, रिलु, दहबगर, लेकगाउँ, मेलबिसौना, गडराय, कैलाश, कोटदेवल, मस्टा, भातेखोला, धमेना, सुनिकोटलगायतका ३० भन्दा गाविसमा स्थानीय हिउँदमा सिकार गर्ने र मारेका वन्यजन्तु नजिकको बजारमा बिक्री गर्छन् ।

यो हिउँदमा मात्रै जिल्लाभर हजारौँ संख्यामा जंगली जनावर र पक्षी मारिएको हुन सक्ने सामुदायिक वन उपभोक्ता महासंघका पूर्वसचिव मंगलबहादुर खड्काले बताए । उनले भने, ‘कुनै गाउँमा त एक÷डेढ सय जनावर नै मारिसके भन्ने कुरा आएको छ । जिल्लाभरको हिसाब गर्ने हो भने त हजारौं जंगली जनावर र पक्षी मारिएका होलान् ।’

हिमाली भेगमा सिकारको सिजन सुरु भएसँगै सदरमुकामलगायत बजारमा डाँफे, कालिजलगायत पक्षी र विभिन्न जंगली जनावरको मासु सदरमुकाममा बिक्री भइरहेको छ । सदरमुकाम चैनपुरलगायत आसपास क्षेत्रमा प्रतिडाँफे २ हजार ५ सय देखि ३÷४ हजारसम्म बिक्री हुने गरेको बताइन्छ । १५ सयदेखि १८ सयसम्म गाउँमै बेच्ने गरेको स्थानीय एक व्यापारीले जानकारी दिए । यस्तै, जंगली जनावर झारल, नाउर, रतुवाको मासु प्रतिकेजी १ हजारदेखि १५ सयसम्म बिक्री हुने गरेको सिकारी बताउँछन् । कालिज १५ सय २ हजारसम्ममा बिक्री हुने गर्छ ।

चोरी सिकार बढेका कारण केही वर्षपहिले प्रशस्तै पाइने जंगली जनावर र पक्षीको संख्या घट्दै गएको छ । दुई÷चार वर्षपहिले हिमाली क्षेत्रका गाउँको नजिकै प्रशस्त भेटिने डाँफेलगायत पक्षी र जंगली जनावर आजभोलि मुस्किलले देखिन्छ ।

‘केही वर्षपहिलेसम्म हिउँ पर्दा मृग र डाँफे गाउँमै आउँथे’ काँडाका उमेश बोहराले भने, ‘अहिले घण्टौँ हिँडेर लेक गएपछि मात्र फाट्टफुट्ट भेटिन्छ । प्रत्येक वर्ष मारेका मा¥यै छन् । कति हुँदा हुन् कुन्नि ?’
जिल्लाभर खुलेआम वन्यजन्तुको सिकार भइरहेको कुराबाट नियन्त्रण गर्ने अधिकारीहरू पनि बेखबर छैनन् । ‘गाउँतिर सबैका घर–घरमा बन्दुक छन् । सिकार भइरहन्छ । यो वर्ष त गत वर्षभन्दा बढी नै सिकार भइरहेको छ भन्ने सुनिन्छ’, डिभिजन वन कार्यालय बझाङका प्रमुख कर्णबहादुर खातीले भने, ‘गत वर्ष प्रशासनले पनि टाइट गरेका कारण केही घटेको हो कि भन्ने थियो ।

अहिले फेरि उस्तै भयो । सिकार नियन्त्रणका लागि अब छुट्टै कार्यक्रम ल्याउनुपर्ने देखिन्छ’, उनले वन कार्यालयसँग भएको जनशक्तिले चोरी–सिकार नियन्त्रण गर्न असम्भव भएको बताउँदै गाउँ–गाउँमा सुराकी परिचालन गर्न र चेतना फैलाउन बजेटसहितको छुट्टै कार्यक्रम आवश्यक रहेको बताए । ‘यो विषयमा मैले प्रदेश र केन्द्र स्तरमा पनि कुरा उठाएको हुँ । कतैबाट सुनुवाइ भएन । हाम्रै प्रयासले मात्रै यो नियन्त्रण गर्न सम्भव छैन,’ उनले भने । जन आस्थाबाट

प्रतिक्रिया दिनुहोस्