Logo

तिन दिन नपुग्दै फेरियो प्रधानमन्त्री ओलीको बोली



Spread the love

१७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सरकारले सबै नेपालीलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने बताए थिए। तर फेरी बोलि परिवर्तन गरेका छन् ।

तीन महिनाभित्र सबै नागरिकलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप उपलब्ध गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा ‘मागी मागी छोराको बिहे’ भन्ने नेपाली उखानसँग चरितार्थ हुने सम्भावना बढेको छ ।

बल्ल बल्ल अनुदानमा प्राप्त १० लाख डोज खोप मात्र हात परेको बेला प्रधानमन्त्रीको उक्त घोषणाले खासै अर्थ नराख्ने बताइन्छ ।

कोरोनाबिरुद्धको खोप अझै सर्वत्र अभाव छ । विकसित देशहरूलेसमेत विश्वका सबै नागरिकलाई खोप लगाउन वर्षौं लाग्ने बताइरहेका छन् । नेपालले न आफैँ खोप उत्पादन गर्छ, न खरिदका लागि भरपर्दो तयारी नै गरेको छ । यस्तो अवस्थामा तीन महिनामा सबै नागरिकलाई खोप लगाइसक्ने घोषणा असम्भव मात्र नभई हाँस्यास्पद समेत रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरू बताउँछन् ।

शनिबार चितवनमा आयोजित आमसभामा प्रधानमन्त्री ओलीले खोपबारे बोली फेरेका छन् । अबको तीन महिनाभित्र फ्रन्टमा काम गर्नेहरुलाई खोप दिने भन्दै उनले भनेका छन्, बाँकी जनतालाई क्रमशः २०२१ भित्र खोप लगाएर कोभिड-१९ लाई नेपालबाट भगाउँछौं, बाँकी विश्वले पनि भगाउँछ भन्ने विश्वास लिएका छौं ।’

लामो अनुसन्धान र पटक पटकको परीक्षणपछि केही देशले कोरोना विरुद्धको खोप विकसित गरेका हुन् । केहिले खोपको विकाससँगै लगाउने काम पनि शुरु गरिसकेका छन् । छिमेकी राष्ट्रहरू चीन र भारतले समेत उक्त खोप विकाससँगै आपतकालीन प्रयोग गर्न थालेका हुन् ।

नेपालमा मंगलबारदेखि शुभारम्भ गरिएको ‘कोभिसिल्ड’ खोप भारतीय उत्पादन हो । उक्त खोप भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको हो । अनुदानमा पाएको १० लाख डोज खोप सरकारकै घोषणाअनुसार पनि स्वास्थ्य क्षेत्रको अग्रमोर्चामा काम गर्नेहरूका लागि समेत पर्याप्त हुँदैन । थप खोपको लागि कुनै सम्झौता समेत भएको छैन । यस्तो परिस्थितिमा प्रधानमन्त्रीले भनेझैँ तीन महिनाभित्र सबै नागरिकलाई यो खोप कसरी लगाउन सकिएला ?

प्रतिक्रिया दिनुहोस्