१६ माघ, विराटनगर । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टी फुटाउनका लागि चाहिने संख्या पनि नभएको बताएका छन्।
प्रतिनिधिसभा विघटनको विरोधमा विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले वास्तविक नेकपा हेर्न सडकमा आउन आग्रह गरेका हुन् ।
‘टीभीमा फुकेर हुँदैन । नेकपा हेर्न सडकमा आउनुहोला’ उनले भने ‘सडकको यो भीड हो, नेकपा । हामी आधिकारिक नेकपा हौँ र यसको अध्यक्ष प्रचण्ड, माधव नेपाल र हामी हौं ।’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश १ ले विराटनगरमा गरेको विरोध सभामा बोल्दै वरिष्ठ नेता खनालले ओली १४ वर्ष जेल बस्दा मार्क्सवाद नपढी रामायण र महाभारत पढेर ‘शकुनी’ बनेर निस्किएको आरोप लगाएका हुन् ।
उनले केपी ओलीले पार्टी फुटाउन नसक्ने भन्दै नेकपा नफुटेको, पद र स्वार्थका लोभी पाखा लागेको बताए । उनले केपी ओलीले पुरानो एमाले व्युझाउन खोजेको समेत बताए । ओलीसँग पार्टी फुटाउनका लागि चाहिने संख्या पनि नभएको समेत उनले तर्क गरे ।