१६ माघ, काठमाडौँ। केपी शर्मा ओली नेतृत्वको समूहका नेता सुवास नेम्वाङले निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंगाइसकेको र आयोग निर्वाचनको तयारीमा जुटेको दाबी गरेका छन् ।
निर्वाचन आयोगले शुक्रबार नेकपाका दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । तर, दाहाल–नेपाल समूहले छलफलका लागि थप समय मागेपछि आयोगले ओली समूहका नेताहरुसँग मात्रै छलफल गरेको थियो । उक्त छलफलमा दल दर्ता र निर्वाचनका बारेमा मात्रै छलफल नेम्वाङले जानकारी दिए ।
‘निर्वाचन आयोगले आधिकारिकताका बारेमा टुंगो लगाईसकेको छ, त्यो अब छलफलको विषय रहेन,’ स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले भने, ‘अब दल दर्ताको प्रक्रिया सुरु गर्नुहोस्, निर्वाचनको तयारीमा लाग्नुहोस् भन्ने आग्रह गरेर निस्किएका छौं ।’
निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार दुवै पक्षले विवरण हेरफेरका लागि गरेको आग्रहलाई अस्वीकार गरिसकेको छ । दुवै पक्षलाई त्यसको जानकारीसमेत पठाएको थियो । विवाद बढेपछि दुवै पक्षले अलग–अलग ढंगले केन्द्रीय समितिको बैठक बसेर गरेका निर्णयहरू आयोगले स्वीकार नगरेपछि नेकपा औपचारिक रूपमा फुटेको मानिएको छैन ।