Logo

भूराजनीतिक जितका लागि वितरण गरिएको चिनियाँ खोपको चर्को आलोचना, सुरक्षामाथि प्रश्‍न



Spread the love

बेइजिङ । विश्‍वभर कोरोना महामारीविरुद्धको खोप अभियान सुरु भइरहेको समयमा चीनले भूराजनीतिक जितका लागि खोप वितरण गर्न लागेको छ ।

चीनको कोरोना भाइरसविरुद्धको खोपको विश्‍वभरबाट आलोचना भइरहेको छ । ब्राजिल र टर्कीका अधिकारीहरुले चिनियाँ कम्पनीहरुले विसका गरेको कोरोनाविरुद्धको खोप पठाउन ढिलो गरेकोप्रति आक्रोश व्यक्त गरेका छन् ।

चिनियाँ खोपहरुको बारेमा बाहिरिएका तथ्यहरुले ब्राजिल र टर्कीजस्ता मुलुकहरु पनि सशंकित भएका छन् । चीनले कोरोनाविरुद्धको खोप प्रभावकारी मानिए पनि फाइजर र मोर्डेनाजस्ता खोपहरुजस्तो सुरक्षित नभएको तथ्य सार्वजनिक भएको छ । फिलिपिन्समा केही सांसदहरुले सरकारको चिनियाँ कम्पनी सिनोभ्याकले विकास गरेको खोप किन्‍ने निर्णयको आलोचना गरेका छन् ।

मलेसिया र सिंगापुरका अधिकारीहरुले दुबै सिनोभ्याक खोप सुरक्षित र प्रभावकारी सावित भएमा मात्र स्वीकृति दिनुपर्ने बताएका छन् । “अहिले हामी कुनै चिनियाँ खोप लिनेछैनौं, किनकि त्यहाँ अपर्याप्त डाटा छ,” सिंगापुरको विदेश मामिला मन्त्रालयका अधिकारी बिलाहारी कौसिकनले भने । उनले चीनले खोप सम्बन्धमा ‘उचित रिपोर्ट’ दिनुपर्ने बताएका छन् ।

कम र मध्यम आय भएका २४ मुलुकहरुले चिनियाँ खोप कम्पनीसँग आयातका लागि हस्ताक्षर गरेका छन् । विकसित राष्ट्रहरुले फाइजर र मोर्डेना खोपको आयात गर्दा कम आय भएका मुलुकहरुले भने उक्त खोप आयात गर्न सकेनन् । यस्ता मुलुकहरुमा कोरोना महामारी लामो समय रहिरहने विज्ञहरुले बताएका छन् ।

चिनियाँ खोप कम प्रभावकारी भएको र आयातमा ढिलाइ भएका कारण महामारी अझै धेरै समय लाग्‍ने भएको छ । बेइजिङका केही अधिकारीहरुले चीनको विश्वव्यापी प्रतिष्ठालाई नै संकटमा पार्ने तर्क गरेका छन् । सरकारी मिडियाले भने चिनियाँ खोपले विश्वव्यापी प्रतिष्ठालाई थप उचाइ प्रदान गर्ने बताइरहेका छन् ।

चिनियाँ मिडियाहरुले अमेरिकी खोपबारे गलत सूचना प्रदान गर्दै चिनियाँ खोपहरुलाई एक राम्रो विकल्पको रूपमा चित्रण गरेका छन् । चिनियाँ सरकारी सञ्‍चारमाध्यमहरु खोप लगाएर मृत्यु भएका मानिसहरुको बारेमा अन्तर्राष्ट्रिय मिडियाहरु किन बोलिरहेका छैनन् भन्‍दै प्रश्‍न गरेका छन् ।

उक्त प्रश्‍न चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताको ट्विटरमार्फत पनि शेयर भएको थियो । तर, वैज्ञानिकहरुले भने मृत्यु भएका ती व्यक्ति पहिले नै अन्य रोगबाट ग्रसित भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्