Logo

ओली श्री ३ महाराज बन्न खोजे- प्रचण्ड



Spread the love

१५ माघ, बुटवल । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली श्री ३ बन्न खोजेको आरोप लगाएका छन् ।

प्रचण्डले श्री ३ बन्न खोजेका ओलीलाई जनताले धराशायी बनाउने बताए ।  प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले बुटवलमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले राजनीतिक स्थायित्व होस् भनेरै पार्टी एकता गरेको भए पनि ३ वर्ष नपुग्दै ओली निरंकुशताको एजेण्टजस्तो भूमिकामा देखापरेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीको प्रतिगामी कदमका विरोधमा बिहीबार बुटवलमा आयोजित प्रदेशस्तरीय विरोध सभालाई सम्वोधन गर्दै प्रचण्डले २५० वर्षसम्म शासन गर्ने राजाहरुसमेत जनताको बलमा फालिएको स्मरण गराए ।

प्रचण्डले जनताका अगाडि निरंकुशता, प्रतिगमन, असंवैधनिक र अलोकतान्त्रिक स्वेच्छाचारी कदमले घुँडा टेकेको बताउँदै ओलीका पनि अब धेरै दिन बाँकी नरहेको बताए । उनले केपी ओली भन्ने एकजना व्यक्तिको विरोध नगरी गलत विचार, मान्यता र गलत विधिको विरोध गरिरहेको भनेर बुझ्न आग्रह गरे । 

प्रचण्डले अब आफ्नो बाँकी जीवन देश र जनताका लागि जिउने प्रणसमेत गरे । एक अर्को प्रसंगमा उनले प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरे । उनले भने, ‘मलाई विश्वास छ, अदालतले संसद पनर्स्थापना गर्दछ, तर अदालतभन्दा ठुलो  जनताको अदालत हो ।’

प्रतिक्रिया दिनुहोस्