१५ माघ, सुर्खेत । सुर्खेतमा गाइ मारेको अभियोगमा दोषी ठहर गर्दै जिल्ला अदालत सुर्खेतले १० जनालाई कैद सजाय सुनाएको छ ।
२०७६ भदौ १३ गते नेपालगन्ज उपमहानगरपालिकाद्वारा सञ्चालित कान्जी हाउसमा रहेका गाई–गोरु र बाच्छा–बाच्छी दैलेख लैजाने २९१ वटा गाईमध्ये ३७ वटा गाईहरु सुर्खेतका विभिन्न ठाउँमा मृत फेला परेका थिए ।
सोही विषयलाई लिएर अदातलले बुधबार नगर प्रहरी निरीक्षकसहित १० जनालाई ३ महिनादेखि डेढ वर्षसम्मको जेल सजाय सुनाएको हो ।
जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले मुलुकी अपराध संहिताको दफा २८९ (२) बमोजिम उनीहरूलाई जेल सजाय सुनाएको हो।
यस्तै, मुद्दामा प्रतिवादी बनाइएका ट्रान्सपोर्ट सञ्चालकसहित ७ जनाले भने अदालतबाट सफाइ पाएका छन् । गाई–गोरु दैलेख पठाउन ट्रक उपलब्ध गराउने गुड्स क्यारियर ट्रान्सपोर्टका सञ्चालक सन्तृप्त सिंह श्रेष्ठ, ट्रक चालकहरू हिमबहादुर जिसी, दामोदर केसी, शत्रुघन चौधरी, सागर विश्वकर्मा र सहचालकहरू विवेक कुँवर र कृष्णबहादुर बिसीले सफाइ पाएका छन् ।
अदालतमा पेश गरिएको मेडिकल रिपोर्टमा पनि मृतक गाई-गोरू चोटपटक लागेर मृत्यु भएको उल्लेख छ।