१३ माघ, काठमाडाैँ । नेपालमा सबैभन्दा पहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक सागर राजभण्डारीले कोरोना भाइरस विरूद्धको खोप लगाउने भएका छन् ।
बुधबार १० बजेबटा लगाउन सुरू गरिने खोपमा पहिलो खोप आफूले लगाउने निर्देशक भण्डारीले जानकारी दिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा नै भण्डारीले खोप लगाउने भएका हुन् ।
भोली काठमाडाैंका तीन अस्पतालहरूमा प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट कोरोना भाइरसको खोप अभियानको उद्घाटन गर्नेछन् ।
बुधबारबाट नै देशभर कोरोना भाइरसको खोप लगाउन सुरू गरिनेछ । यो अभियानका लागि सात वटै प्रदेशमा भारतमा निर्मित कोभ्याक्सिन पुर्याइसकेको बताइएको छ ।
भारतले नेपाललाई १० लाख डोज कोरोना भाइरसको भ्याक्सिन अनुदानमा दिएको छ । एक जनाले २ डोज लगाउनुपर्ने भएकाले भारतले दिएको खोप ४ लाख ३० हजारका लागि पुग्ने मन्त्रालयले जानकारी दिएको छ ।
बुधबार नै सागर राजभण्डारीका साथै टेकु अस्पतालका प्रवक्ता अनुप बास्तोलाले पनि कोरोना भाइरसको खोप लगाउनेछन् ।
भारतले अनुदानमा दिएको खोप सुरुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स तथा शववाहन चालकलगायतलाई दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।