१३ माघ, काठमाण्डाै। भारतको आन्ध्र प्रदेशमा पर्ने चित्तोर जिल्लाकाे मदनपल्ली गाउँका एक दम्पतीले पुनर्जन्म हुने अन्धविश्वासमा परि दुई छाेरीकाे हत्या गरेका छन् ।
ती दम्पतीले एक दिनमै दुई छाेरीकाे पुनर्जन्म हुने अन्धविश्वासमा परि उनीहरूकाे हत्या गरेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पद्माजा नैडु र पुरुषोत्तम नैडुले आइतबार राति आफ्ना दुई छाेरी २२ वर्षीया सैदिव्या र २७ वर्षीया अलेख्याकाे डमबेलले हानेर हत्या गरेका हुन् ।
ती दम्पतीले पुनर्जन्म हुने अन्धविश्वासमा छोरीहरूको बलि दिएको प्रहरी अनुसन्धानबाट खुल्न आएकाे भारतीय सञ्चारमाध्यम ‘द इण्डियन एक्सप्रेस’ ले जनाएको छ ।
हत्या गरिएकी सैदिव्या मुम्बईमा रहेको ए आर रहमान म्युजिक स्कुलमा बीबीए पढ्दै थिइन् भने अलेख्या भोपालमा रहेको इण्डियन इन्स्टिच्युट अफ फरेस्ट म्यानेजमेन्ट कलेजमा पढ्दै थिइन् ।
हत्यामा संलग्न पद्माजा स्थानीय कलेजमा प्राचार्य तथा करेस्पोन्डेन्टका रूपमा कार्यरत छिन् भने पुरुषोत्तम एक कलेजका सह-प्रमुख रहेका बताइएकाे छ ।
प्रहरी सामु उनीहरूले आइतबार राति कलियुगको अन्त्य हुने र सोमबार बिहानीबाट सत्ययुगको सुरु हुने भएकाले छाेरीहरूकाे हत्या गरे पुनर्जन्म हुने ईश्वरीय सन्देश पाएकाले उनीहरूको हत्या गरेको स्वीकारेका छन् ।
हत्या गरिएका दुवै छोरीको शव पोस्टमार्टमका लागि स्थानीय एक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नाैडु दम्पतीलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।