१२ माघ, काठमाडौँ । नेकपाको दाहाल–नेपाल समूहले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनमा प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम खारेज नभएसम्म आन्दोलन जारी रहने जानकारी दिइएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका लागि बनाइएको पार्टी संघर्ष समितिले माघ १३ देखि २८ सम्मका कार्यक्रम सार्वजनिक गरेको छ ।
संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठका अनुसार माघ १३ गते काठमाडौंमा सिठ्ठी जुलुस, माघ १४ गतेदेखि २१ सम्म माइतीघर मण्डलामा संविधानसभा सदस्य, विघटित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यसहित धर्ना कार्यक्रम, माघ १६ गते जुलुससहित श्रद्धाञ्जली कार्यक्रम रहेका छन् ।
यसैगरी माघ १५ गते बुटवल, १६ गते विराटनगर र १७ गते धनगढीमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम तय गरिएको छ।
पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले दुई चरणको संघर्ष सफलतापूर्वक सञ्चालन भइसकेकाले संसद विघटनको असंवैधानिक कदम खारेज नगर्दासम्म संघर्ष जारी राख्ने बताए ।