९ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफूहरु संसद, संविधान र लोकतन्त्रको रक्षा गर्नको लागि आम जनता सडकमा उत्रिएको स्पष्ट पारेका छन् ।
दाहाल–नेपाल समूहले आज काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता खनालले ओली नेतृत्वको सरकारको प्रतिगामी कदमविरुद्ध सडकमा उत्रिएकोले अब यो प्रतिगमन नसच्चिएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन् ।
खनालले सम्बोधनका क्रममा ओलीलाई पार्टीबाटै निष्कासित गरिएको बताएका छन्। ‘केपी ओली अब कमरेड रहेनन्, हामीले उनलाई पार्टीबाट निष्कासित गरिसकेका छौं’, उनले भने, ‘केपी ओली कम्युनिष्ट होइनन्, उनी त एक भगौडा मात्रै हुन्। यो पार्टीका भगौडा र कम्युनिष्ट आन्दोलनका पनि एकजना भगौडा हुन् ओली।’
आज सिंगो देशभरि सरकारविरुद्ध जनता सडकमा उत्रिएको उल्लेख गर्दै ओली विश्वाघाती भएको पुष्टि भएको उनको भनाई छ । उनले भने,‘केपी ओली भगौडा हुन । उनी कम्युनिष्ट पार्टीका भगौडा हुन् । ओलीले प्रतिगामी काम गरे ।’
उनले प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै संविधान बाहिर गएर सर्वोच्चले निर्णय नगर्ने पनि विश्वास व्यक्त गरेका छन्।