९ माघ, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले कर्णाली जाग्दा देश नै जाग्ने बताएका छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबार पत्रकार भेटघाटमा अध्यक्ष पूर्वप्रधानमन्त्री नेपालले मुलुकको हरेक आन्दोलनमा कर्णालीको अग्रणी भूमिका रहेको जनाए ।
‘ओलीको प्रतिगमनकारी कदमका विरुद्धमा हिजो कर्णालीमा अपार जनप्रदर्शन भयो । कर्णाली जागेको छ, देश नै जाग्छ ।,’ उनले थपे, ‘कर्णाली फर्केको देख्नुभएको छ ? बरु समुन्द्रमा मिल्छ ।’
पार्टी सचिवालय, स्थायी कमिटी हुँदै केन्द्रीय सदस्यसम्मको बैठकबाट भागेर विधान र नीतिभन्दा माथि हुन खोज्नु गलत भएको बताउँदै उहाँले विधिसँग अघि बढौँभन्दा पदलोभी भनेर सङ्ज्ञा दिइएको भनी विरोध जनाउनुभयो । अध्यक्ष नेपालले पार्टीको विधि, पद्धति र विधानभन्दा माथि कोही नहुने स्पष्ट पार्नुभयो ।