९ माघ, काठमाडौँ । प्रतिनिधिसभा विघटनपछि अनौपचारिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले आज काठमाडौँमा १ लाख बढी कार्यकर्ता उतारी शक्ति प्रदर्शन गर्ने भएको छ ।
नारायणकाजी श्रेष्ठको नेतृत्वमा गठित केन्द्रीय संघर्ष समितिले आज काठमाडौँमा हुने ‘वृहत शक्ति प्रदर्शन’ मा कार्यकर्तालाई उपस्थित गराउन प्रदेश, जिल्ला र जनवर्गीय संगठनलाई सर्कुलर गरेको छ ।
माइतीघरबाट निस्कने जुलुसको नेतृत्व स्थायी कमिटी सदस्य गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, लिलामणि पोखरेल, हरिबोल गजुरेल र पेशल खतिवडाले नेतृत्व गर्नेछन् । डिल्लीबजार, चारखालबाट निस्कने जुलुसको नेतृत्व वर्षमान पुन र बेदुराम भुसालले गर्नेछन् । लैनचौरबाट निस्कने जुलुसको नेतृत्व भीम रावल, शक्तिबहादुर बस्नेत र नन्दकुमार प्रसाईंले नेतृत्व गर्नेछन् । त्रिपुरेश्वरबाट निस्कने जुलुसको नेतृत्व युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र देवेन्द्र पौडेलले गर्नेछन् ।
जुलुसपछिको सभालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायतका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।
दाहाल-नेपाल समूहले यसअघि गत पुस १४ गते पनि काठमाडौँमा प्रदर्शन गरेको थियो ।